तुलसीपुरको बसपार्कमा डिजेल चोर्ने गिरोह जिप सहित पक्राउ

तुलसीपुर, २२ चैत्र ।
दाङको तुलसीपुरमा रहेको बसपार्कमा पार्किङ गरिराखेको बसबाट डिजेल चोरी गर्ने एक गिरोह जिप सहित पक्राउ परेको छ । पक्राउ पर्नेमा तुलसीपुर –९ बेलुवा निवासी २१ वर्षका विशाल रावत र रानीजरुवा निवासी १९ वर्षका नवीन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता पर्वत केसीले जानकारी दिनुभएको छ ।


ना४ख ६४९५ नम्बरको बसबाट आज (बुधबार) बिहान २ बजे डिजेल झिक्दै गर्दा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट २० लिटर डिजेल, ३०/३० लिटरका दुईवटा ग्यालिन र डिजेल बोक्न प्रयोग गरिने ना ४च ५७८७ नम्बरको जिप समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरु माथि थप अनुस्नधान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।