दशै सभ्य र भब्य बनाऔं

नेपालीहरूको महानपर्व बडादशै घर आँगणमा आईपुगेको छ । यो पर्वलाई नेपालीहरूले हिन्दू परम्परा अनुसार भब्य रूपमा मनाउने गर्छन् । संस्कार, संस्कृति र सामाजिक सदभावका रूपमा यो पर्वलाई मनाउने गरिन्छ । चाडपर्वले मानिसहरूको भाईचाराको सम्बन्ध बढाउछ । जागिरको सिलसिला होस्, वा अन्य कुनै कारण घर भन्दा टाढा गएका आफन्तीहरू घर फर्किन्छन् । यसले घर परिवार, गाउँ घरमा खुसीयाली छाएकोे हुन्छ । तर, पछिल्लो समय चाडपर्वका नाममा विकृति पनि देखिने गरेका छन् । अर्काको देखासिकी गर्ने, फजुल खर्च गर्ने, चाडपर्वका नाममा गैरकानुनी क्रियाकलाप गर्ने प्रवृति बढेको छ । यसले यस्ता चाडपर्वलाई खल्लो पनि बनाउने गर्छ । वर्ष दिनमा आउने यस्ता चाड पर्वलाई सभ्य बनाउनु पर्छ ।

चाडपर्वका अफ्नै मूल्य र मान्यता रहेका छन् । त्यसमा केही विकृतिहरू पनि छन् । रूढीवादी परम्परा पनि जोडिएका छन् । त्यसैले दशै, तिहार जस्ता चाडपर्वलाई परिस्कृत गरेर लैजानु पर्छ । नेपाल एक बहुभाषी, बहुधार्मिक र बहुजातीय देश हो । त्यसैले पनि असंख्य संस्कृति र चाडपर्वहरू मिलेर मनाउने गरिन्छ । प्रत्येक वर्ष नेपालमा ५० भन्दा बढी उत्सवहरू मनाइन्छन् । नेपाल सांस्कृतिक विविधतामा धनी रहेको छ । नेपालमा चाडपर्वहरू धार्मिक पक्षबाट सुरू हुन्छन् र आशीर्वाद खुशीको साथमा परिवार तथा आफन्तजनबाट लिइन्छ । नेपाल मौलिक चाडपर्वले विश्वमा नै धनी मुलुकको रूपमा चिनिने गरेको छ । संरक्षणका अभावमा कतिपय चाडपर्वहरू लोपान्मुख अवस्थामा पुगेका छन् भने धेरै चाडपर्वहरूमा विकृति मिसिएका छन् । नेपाली मौलिक चाडपर्व तथा सांस्कृतिक पर्वहरू मनाउने शैली फेरिएस“गै यसमा विभिन्न किसिमका विकृति मिसिएका छन् । नेपालमा मुख्य गरि मनाइने पर्वहरूमा दसैं, तिहार, तीज, जनैपूर्णिमा तथा समुदायमा आधारित साँस्कृतिक मूल्य र मान्यताहरूमा समेत धेरै विकृति फैलिने गरेको छ । हाम्रा साँस्कृतिक पर्वहरूमा भएका कुरितीलाई हटाउँदै सभ्य तरिकाले मनाउनु पर्नेमा झन विकृति थपिएका छन् । अहिले चाडबाड घरमा नमनाएर होटल, पार्टी प्लेसमा मनाउने गतिविधि बढेको छ । मानिसले आफ्नो संस्कृति बिसेर छाडापनसँगै विकृति भित्रिएको छ ।


केही वर्षयता चाडपर्वको नाममा अत्यधिक मादक पदार्थको सेवन गरी झै–झगडा गर्दै गरेको तथा जुवातासमा बढी झुम्मिने गरेको समेत पाइन्छ । तिहारमा झिलिमिलि बत्ती बालौँ र आफ्नो संस्कृतिअनुसार नै चाडपर्व मनाऔंं । चाडपर्व मान्ने क्रममा जुवातास डाइसजस्ता निषेधित खेल अन्त्य गरौं । पटकाहरू पड्काउँदै एक अर्कालाई असर पर्ने गरी ध्वनि प्रदूषण गर्दै चाडपर्वलाई विकृत नबनाऔं । सभ्य रूपमा चाडपर्व मनाउने गरौंं र सभ्य समाजको सौन्दर्य कायम गरौं । साभारः अग्रिम साप्ताहिक