इट्टाको अभाब बनाएर मूल्य बढाउने षडयन्त्र नहोस्

हरेक कुराको अभाव बनाउने र त्यसको मूल्य बढाउने । यो हरेक व्यवसायमा देखिएको समस्या हो । यसैलाई भन्छन्, कालोबजारी र सिन्डिकेट । यो सिन्डिकेट पछिल्लो समय इट्टा व्यवसायमा पनि देखिएको छ । जिल्लाका केही इट्टा उद्योगका इट्टा अझै विक्री भएका छैनन् । इट्टा विक्री नहुँने कुरा अहिलेको देशभरकै समस्या पनि हो । त्यसले गर्दा विगतका इट्टा विक्री गर्नकालागि अहिले समयमै उद्योगमा आगो लगाईएको छैन । त्यसमा सरकारले पनि त्यही अनुसार व्यवसायीको मागलाई मध्येनजर गरि पुस मसान्त पछि मात्रै इट्टा उद्योगमा आगो लगाउन निर्देशन ग¥यो । तर, केही उद्योगहरुले मंसिर मसान्तमै आगो लगाए । उद्योग मन्त्रालयले जिल्लाका घरेलु तथा साना उद्योग कार्यालय मार्फत पठाएको पत्रलाई आधार बनाएर आगो लगाएका उद्योगको आगो बन्द गर्न ध्यानाकर्षण पनि गराए । तर, अदालतले निरन्तर चल्न दिन भनि आदेश दियो । त्यसपछि केही इट्टा उद्योग सञ्चालकहरुमा छटपटि भयो ।

कृतिम अभाव सिर्जना गरेर उपभोक्ताबाट चर्को मूल्य असुल्ने प्रयास हरेक व्यवसायिक क्षेत्रमा नहुँने गरेको होईनन् । जताबाट पनि उपभोक्तालाई मारमा पर्ने गरि गरिने यस्ता हर्कत गर्नु नकारात्मक पक्ष हो । त्यसले समाजलाई सकारात्मक मार्गमा पनि लैजादैन । अहिले जिल्लामा इट्टाको अभाव छ । घर निर्माण चलिरहे पनि इट्टा अभावकै कारण काम अघि नबढेको अवस्था पनि छ । यस्तो अवस्थामा उपभोक्तालाई सहज हुने गरि काम गर्नुपर्नेमा झनै उत्पादन नै रोक्नु पर्ने, कृतिम अभाव बनाएर चर्को मूल्य असुल्ने कार्य बन्द हुनुपर्छ ।


इट्टामा देखिएको गुणस्तरीयतामा पनि बहस हुनु अहिलेको आवश्यकता छ । अर्को तर्फ जिल्लामा चलेका इट्टा उद्योगहरु कति प्रदूषणयुक्त छन् ? कति प्रदूषण गरिरहेका छन् ? भन्ने बारेमा विज्ञ टोलीले नियमित अनुसन्धान गर्न भने आवश्यक छ । वातावरण प्रदूषण गरिरहेका उद्योगहरुलाई नियमन गर्नुकासाथै जिगज्याकलगायतका प्रविधि जडान गर्न लगाउनु पर्छ । जिल्लामा जिगज्याक जडान गरेका उद्योगहरुले कति प्रदूषण गरिरहेका हुन्छन्?, त्यो प्रविधि नजोडकाले कति प्रदूषण गरिरहेका छन् ? भन्ने कुराको मूल्याकंकन पनि गर्नुपर्छ । त्यसो गर्न सकिएमा मात्रै पनि अहिलेको जस्तो इट्टा व्यवसायीहरु दुइधारमा बाँडिने र अस्वस्थ प्रतिस्पर्धामा रुमलिने अवस्था अन्त्य हुन सक्छ । समस्या सिर्जना गर्ने भन्दा पनि समाधानमा ध्यान दिनुपर्छ । साभारः अग्रिम साप्ताहिक