राप्तीमा बजार अनुगमन कार्य जारी

तुल बहादुर कवँर मगर
देउखुरी, १ कार्तिक ।
राप्ती गाउँपालिका दाङले सञ्चालन गरेको बजार अनुगमन कार्य जारी रहेको छ। पालिकाले सोमबार देखि बजार अनुगमन कार्य जारी राखेको हो । गाउँपालिकाले आउदै गरेको चाडपर्वहरुलाई लक्षित गरि बजार अनुगमन कार्य गरेको छ।

अनुगमनको दोस्रो दिन आज बुधबार भालुवाङ्ग,पुलचोक बजार र लालमटिया बजार अनुगमन गरिएको छ । विशेष गरि म्याद नाघेर ननाघेको, मूल्य सुचि राखेर नराखेको र कालोबजारी रोकथामका लागि बजार अनुगमन गरिएको हो ।

केही पसलहरुमा मूल्य सूचि नराखेको पाइएकाले त्यस्ता पसलहरुलाई तत्काल मूल्य सूचि राख्न आग्रह गरिएको पालिकाका आर्थिक विकास समितिका संयोजक जिवराज पौडेले जानकारी दिनु भएको छ।


त्यस्तै अनुगमनका क्रममा केही पसलहरु बाट म्याद नाघेका खाद्य बस्तुहरु समेत जफत गरिएको छ। राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापति चौधरीको नेतृत्वमा बजार अनुगमन गरिएको हो।

अनुगमनमा पालिकाका आर्थिक विकास समितिका संयोजक तथा पशुसेवा शाखा प्रमुख जिवराज पौडेल, कृषि विकास शाखाकी प्रविधिक निर्मला गिरी, पशु सेवा प्राविधिक शेरबहादुर हमाल, इलाका प्रहरी कार्यालय भालुवाङ्गका असई शालिकराम पोख्रल र पत्रकार ओमप्रकाश गुप्ताको सहभागीता रहेको थियो।

यस्तै पालिकाले गत महिना मात्रै सञ्चालन गरेको करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानबाट ३२ लाख २४ हजार ९ सय पचास रुपैयाँ राजश्व संकलन गरेको थियो भने विभिन्न पसलहरुबाट १ लाख बढी मूल्यको म्याद नाघेको खाद्य बस्तुहरु जफत गरि नष्ट गरेको थियो।