इजरायल गएका छोरासँग सम्पर्क टुटेपछि परिवारका सदस्य विक्षिप्त

दाङ,२१ असोज ।  दंगीशरण गाउँपालिका-३ हेकुली निवासी निमबहादुर डाँगी आफ्नो छोरा प्रविण डाँगीकाे फेसबुक प्राेफाइल हेरेर टाेलाउँछन्। इजरायल गएका छाेरासँग सम्पर्क टुटेकाे एक दिन नाघिसकेकाे छ। तर, उनले छाेराकाे अवस्था अहिलेसम्म पत्ता लगाउन सकेका छैनन्।

दूतावासमा फाेन सम्पर्क गर्न खाेजे पनि सम्पर्क हुन नसकेकाे भनाइ बुवा निमबहादुरकाे छ।

‘मर्ने भएँ बुवा, बाँचेछु भने सम्पर्कमा आउँछु भन्याे। त्यसपछि सम्पर्क भएको छैन’, उनले भने, ‘छाेरा अनलाइनमा आउँछ कि, सम्पर्क हुन्छ कि भन्ने आशामा छाैं।’ प्रविण इजरायल गएकाे एक महिना पनि पुगेकाे छैन।

‘छाेरा बिएसिएजी पढेर इजरायल गयाे। एक महिना पनि पुगेकाे छैन। घटना भएको खबरले हामीलाई पीडा दियाे। छाेरासँगकाे सम्पर्क टुट्याे। उसले बनाएकाे एउटा भिडियो हामीले पायौं। त्यसपछि सम्पर्क छैन’, निमबहादुरले थपे।

निमबहादुरका तीन भाइ छाेरा छन्। प्रविण कान्छाे छाेरा हुन्। प्रविण बसेकाे कृषि फर्म नजिक आक्रमण भएपछि उनीसँगकाे सम्पर्क टुटेकाे हाे।


गत भदौ २६ मा उनी इजरायल पुगेका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उत्पादित पहिलो कृषि विज्ञ (सिलेक्टिभ) टोलीमार्फत ११ महिनाकाे लागि इजरायल पुगेका थिए।

सरकारले राजदूतावासमार्फत् सम्पर्क गरेर विद्यार्थीहरूकाे अवस्था चाँडै पत्ता लगाउन निमबहादुरको अनुराेध छ।

हमासको आतंकवादी आक्रमणमा परेका १३ जना नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ।

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगत गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको पालन गर्न सरकारले अनुरोध गरेको छ। साभार: देश सञ्चार