आँखा पाक्ने रोग देशव्यापी, महामारीको जोखिम

काठमाडौँ, २२ साउन ।
सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।

‘जुन गतिमा आई फ्लुको संक्रमण बढिरहेको छ, यो खतराको संकेत हो,’ कीर्तिपुर आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य भन्छन्, ‘एक व्यक्तिबाट अर्कोमा फैलिने यो संक्रमणले महामारीको रूप लिन सक्ने जोखिम देखिएको छ ।’ सामान्यतया मनसुनको समयमा बढी फैलने यो संक्रमण यस पटक भने विगतको दाँजोमा तीव्र रूपमा देशभर फैलिरहेको तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ प्राडा रोहित सैजुले बताए । यस पटकको संक्रमण भारत र नेपालको सीमावर्ती क्षेत्रबाट सुरु भएको हो ।

मधेश प्रदेशमा यो संक्रमण अत्यधिक वृद्घि भइरहेको औंल्याउँदै जानकी आँखा अस्पताल, जनकपुरका नेत्र रोग विशेषज्ञ डा। अमित यादव बहिरंग विभागमा हाल दिनहुँ हजारको संख्यामा आँखा रोग संक्रमित आउने गरेको बताए । उनले यो रोग प्रकोपका रूपमा फैलिरहेको र महामारीकै रूप लिन सक्ने जोखिम रहेको बताए ।

नेपाल नेत्र ज्योति संघको देशभरका २७ वटा आँखा अस्पताल र १ सय ५० आँखा उपचार केन्द्रबाट संकलित तथ्यांकले पनि आँखा पाक्ने रोग देशभर प्रकोपका रूपमा फैलिरहेको र कुनै पनि बेला महामारीको रूप लिने जोखिम रहेको देखिएको छ ।

संघका अनुसार पछिल्लो साता पूर्व विराटनगरदेखि सुदूरपश्चिमको धनगढीसम्म आँखा पाक्ने रोग संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । केही अस्पतालका बहिरंग विभागमा आउने बिरामीमध्ये ८० प्रतिशतभन्दा बढी त आँखा पाक्ने रोगको उपचार गराउन आउनेहरू रहेको चिकित्सक बताउँछन् ।

नेत्र ज्योति संघका पश्चिम नेपालस्थित गेटा आँखा अस्पताल, कैलालीको बहिरंग विभागमा आउने बिरामीमध्ये दिनहुँ ४५ देखि ५० प्रतिशतसम्म आँखा पाक्ने रोगका बिरामी आउने गरेको बताइएको छ । यस्तै संघकै राप्ती आँखा अस्पताल तुल्सीपुर दाङमा दिनहुँ सरदर ४ सय ५० बिरामी, लमही आँखा अस्पतालमा दिनहुँ करिब ३ सय, बहादुरगन्ज आँखा अस्पतालमा दिनहुँ ३ सय ५० गरी बहिरंग विभागमा आउने गरेको सम्बन्धित अस्पतालले बताएका छन् ।

तथ्यांकअनुसार बहिरंग विभागका बिरामीमध्ये ८० प्रतिशतमा आँखा पाक्ने समस्याले आउने गरेका छन् । हिमालयन आँखा अस्पतालमा शुक्रबार आएका ९ सय ५० बिरामीमध्ये ३ सय ५२ जनामा भाइरल कन्जंग्टिवाइटिस देखिएको थियो । यस्तै भरतपुर आँखा अस्पतालमा पछिल्ला साता दैनिक ५ सय यस्ता संक्रमित भर्ना भइरहेका छन् ।


लुम्बिनी प्रदेशमा तराईभन्दा पहाडमा बढी संक्रमण देखिएको डा. मिश्र बताउँछन् । फतेह बाल आँखा अस्पतालमा करिब २० प्रतिशत र लुम्बिनी आई इन्स्टिच्युटमा १२ प्रतिशतमा आँखाको संक्रमण देखिएको छ । यस्तै आई हस्पिटलमा आउने बिरामीमध्ये झन्डै ६० प्रतिशत भाइरल कन्जंग्टिवाइटिसका बिरामी रहेको डा. विनोद निता कँडेलले जानकारी दिए । विराटनगर आँखा अस्पताल र यसअन्तर्गतको आँखा स्याहार केन्द्रहरूमा दैनिक सरदर २२ प्रतिशत केस कन्जंग्टिवाइटिसका आइरहेका छन् । हिमालय आँखा अस्पतालमा शुक्रबार बहिरंग विभागमा आएका ९ सय ५० जना बिरामीमध्ये ३७ प्रतिशत अर्थात् ३ सय ५२ जना आँखा पाक्ने समस्याले आएका थिए भने चौधरी आँखा अस्पताल लहानमा शनिबार बहिरंग विभागमा आएका ८ सय ९५ बिरामीमध्ये ४ सय ८३ जना अर्थात् ५४ प्रतिशत कन्जंग्टिवाइटिसका बिरामी छन् ।

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र भन्छन्, ‘संक्रमणको विस्तार तीव्र छ । कुनै पनि बेला महामारीको रूप लिन सक्छ ।’

भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग काठमाडौं उपत्यकामा समेत देखिन थालेको छ । पछिल्लो समय कीर्तिपुर आँखा अस्पतालको बहिरंग विभागमा कुल बिरामीमध्ये सरदर २० देखि ३० प्रतिशत आँखाको संक्रमण समस्या लिएर पुग्ने गरेका छन् । ‘पछिल्लो समय भारत र त्यसपछि सीमावर्ती नेपाली क्षेत्रमा देखिएको आँखाको संक्रमण हाल राजधानीमा समेत देखिएको छ,’ कीर्तिपुर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. एरिक वैद्यले भने ।

तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ प्राडा रोहित सैंजुले केही समययता दैनिक ६० देखि ७५ जना आँखा पाक्ने रोगका बिरामी आउने गरेको बताए । उनका अनुसार अत्यन्त संक्रामक रहेको यो रोग अन्य बिरामीलाई नसरोस् भनेर छुट्टै ‘रेड आई क्लिनिक’ सञ्चालन गरिएको छ ।

जनकपुरस्थित जानकी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.अमित यादव र विराटनगर आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रक्षा पन्तका अनुसार सहरी र ग्रामीण क्षेत्रका बालबालिकामा यो संक्रमण बढी देखिएको छ । डा. पन्तका अनुसार संक्रमण सामान्यतः ७ देखि १० दिनसम्म रहन्छ । तर, कसै–कसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ । त्यसैले संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जानु आवश्यक रहेको उनले बताइन् ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो संक्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनु हुँदैन । साभारः कान्तिपुर