९ वर्ष देखि एम्बुलेन्स विहीन प्रादेशिक अस्पताल

तुलसीपुर, १६ असोज ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल ९ वर्ष देखि एम्बुलेन्स विहीन छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्स विहीन भएको हो । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढा–टाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।

निजी एम्बुलेन्सले महंगो शूल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही टेकराज भण्डारीले बताए ।

अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. पदमराज अधिकारीले बताए । पटक–पटक विग्रिने र बनाउँदा ५/७ लाख खर्च हुने भएकाले पनि उक्त एम्बुलेन्सलाई थन्काएर राख्नु परेको उनको भनाई छ । “पटक–पटक बिग्रिरहन्छ, एम्बुलेन्सको मूल्य भन्दा बढि मर्मत मै खर्च हुने देखियो”,उनले भने “त्यसैले पनि हामीले अहिले यसलाई थन्काएर राख्नु पर्ने अवस्था आएको छ ।”


यसलाई अवधि पुगेमा लिलामी गर्ने तर्फ आफूहरूले ध्यान दिएको अस्प्तालका स्टोर प्रमुख रेश्मीराज अधिकारीले बताए । “अन्य संस्थाहरुका एम्बुलेन्स पनि प्रयाप्त छन्”,उनले भने “त्यसैले पनि हामीले बनाउनु भन्दा अवधि पुगेमा लिलामी गर्नेतर्फ ध्यान दिएका छौं ।” २०६६ सालमा उक्त एम्बुलेन्स खरिद गरिएको थियो ।

यसलाई अवधि पुगेमा लिलामी गर्ने तर्फ आफूहरूले ध्यान दिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताए । उनका अनुसार सबै ठाउँबाट यस्ता एम्बुलेन्सको विवरण माग गरेको भन्दै विवरण आएमा चल्न सक्नेलाई मर्मत गरेर सञ्चालन गर्ने र नचल्नेलाई लिलामी गर्नतर्फ प्रदेश सरकार अघि बढेको छ । साभारः अग्रिम साप्ताहिक