तुलसीपुर उपमहानगरः विगतमा मर्ज गर्ने होड, अहिले खोल्दै

टेकराज भण्डारी
तुलसीपुर, १२ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले यस अघि समायोजन(मर्ज) गरेका विद्यालयहरूलाई पुनः सञ्चालनमा ल्याएको छ । यस अघि २०७६ सालमा तुलसीपुरका १७ वटा विद्यालय नजिकैको धेरै विद्यार्थी भएका विद्यालयमा मर्ज गरिएको थियो । ति मध्ये हाल ३ वटा विद्यालय पुनः सञ्चालनमा आइसकेका छन्, भने बाँकी विद्यालय पनि सञ्चालनमा ल्याउने तयारी रहेको उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए ।

“अघिल्लो जनप्रतिनिधिको पालामा ति विद्यालयहरू मर्ज भएका थिए, तर जुन योजना अनुसार मर्ज भएका थिए, त्यो अनुसार हुन सकेन”,उनले भने “त्यही भएर हामीले ति विद्यालय सञ्चालनमा ल्याएका हौं ।” मर्ज भएका सबै विद्यालयलाई पुनः सञ्चालनमा ल्याउन भनिएको भएपनि केही विद्यालयहरू विद्यार्थी नभएकै कारण सञ्चालनमा आउन सकेका थिएनन् । तर, विद्यार्थी धेरै भएका विद्यालयहरू भने पुनः सञ्चालनमा आइसकेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित प्राबि टरिगै, भगवति प्रावि डाँडाखुट्टी र प्रावि मोतिपुरलाई पुनः सञ्चालनमा ल्याईएको हो ।

विद्यालय मर्ज भएपछि विद्यार्थीहरूलाई विद्यालय पुग्न टाढा हुने गरेको थियो । त्यसले गर्दा गाडी सञ्चालनमा ल्याउने र विद्यार्थीहरूलाई विद्यालयसम्म पु¥याउने योजना मन्त्रालयको पनि रहेको र उपमहानगरपालिकाले पनि त्यही योजनाका साथ मर्ज गरेको थियो । ‘मेघा विद्यालय’ बनाउने योजना रहेपनि त्यो अनुसार काम नहुँदा झनै विद्यार्थीहरूलाई असहज हुने भएपछि मर्ज भएका विद्यालय पुनः सञ्चालनमा ल्याउनु पर्ने अवस्था सिर्जना भएको हो ।


हाल पुनः खुलेका विद्यालयमा बालविकाससम्म अध्यापन भइरहेको छ, भने कक्षा थप गरि कक्षा १ सम्म सञ्चालन गर्ने तयारी रहेको छ । मर्ज भएका अन्य विद्यालयहरूलाई पनि विद्यार्थी संख्या वृद्धि भएमा पुनः सञ्चालनमा ल्याउने गरि तयारी गरिएको शाखा प्रमुख भण्डारीले बताए । साभारः अग्रिम साप्ताहिक