घोराही–तुलसीपुर चारलेन दुई चरणमा मर्मत हुँदै

मनबहादुर बुढाथोकी
दाङ, १६ असोज ।
घोराही–तुलसीपुर चारलेन दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवादेखि गुर्जे खोलासम्मको काम भइरहेको छ । सोही काम असोजमा सक्ने गरि सम्झौता भएको छ ।

असार १८ गते सम्झौता गरि हाल काम भइरहेको इञ्जिनियर मनिश विकले बताए । “असोजमा काम सक्ने गरि सम्झौता भएको हो”,उनले भने “मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ।” यस अघि चारलेनका क्रममा भत्किएको सडकलाई दुई लेनमै मर्मत गर्ने गरि काम अघि बढाईएको हो । हात्तिखौवादेखि गुर्जेखोलासम्मको १३ किलोमिटर सडक मर्मतको कामको जिम्मा रोल्पा स्वच्छन्द निर्माण सेवाले लिएको छ । एक करोड १६ लाखमा उक्त कम्पनीले ठेक्का लिएको हो ।

गुर्जेखोलादेखि बबई खोलासम्मको ११ किलोमिटर सडक मर्मतको जिम्मा रोल्पा निर्माण सेवाले एक करोड ४२ लाखमा लिएको छ । सोही कम्पनीले पनि काम सुरु गरेको छ ।


दुइ लेन सडक मर्मतकालागि दुई करोड ५८ लाख रुपैँया छुट्याइएको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरुप्रशाद अधिकारीले बताए । यस अघि चारलेन मर्मतकालागि भन्दै यस अघि रहेको पक्की सडक भत्काईएको थियो । जसले गर्दा बीच–बीचमा खाल्डाखुल्डी छन् । ति खाल्डाखुल्डीले गर्दा आवतजावतमा निकै समस्या पर्ने गरेको छ ।

पटक–पटक म्याद थप गर्दा पनि चारलेन निर्माणको कामले गति लिन नसकेका कारण दाङका जनताले विरोध जनाएका थिए । सोही विरोध पछि चारलेन ठेक्का तोडिएको थियो । ठेक्का तोडिएपछि सडकबीचका खाल्डाखुल्डी मर्मतको काम अघि बढेको हो ।

यअसघि २०७५ पुस १३ गते तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तार गर्ने गरि भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो। भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको थियो । तर, उक्त सडकको काम पेटी ठेकेदारलाई जिम्मा दिईएको थियो । पाँच वर्षमा ८ जना पेटी ठेकेदार फेरिएपनि काम भने समयमा पूरा हुन सकेन । साभारः अग्रिम साप्ताहिक