तुलसीपुरमा बजार व्यवस्थापक कर्मचारी कसरी नियुक्ती भए ?

दीपक बोहरा
तुलसीपुर, १० जेठ ।
तुलसीपुर बजार व्यवस्थापनकालागि उपमहानगरपालिकाले बजार व्यवस्थापक कर्मचारी खटाएको छ । पोशाकसहित ८ जना कर्मचारी खटाएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताउनुभयो ।

डेढ महिना अघि नै उपमहाननगरपालिकामा कार्यरत कार्यालय सहयोगी तथा सरसफाई कर्मचारीबाट ८ जना कर्मचारी छनोट गरि बजार व्यवस्थापकका रुपमा ल्याईएको हो । जसमा दुई महिला कर्मचारी छन्, भने अन्य ६ जना पुरुष कर्मचारी नै छन् ।


उनीहरुलाई आज(बुधबार)देखि सातदेखि तालिम दिएर बजारमा पठाउने तयारी रहेको प्रमुख शर्माले बताउनुभयो । “हामीले कार्यालयमा कार्यरत ८ जना कर्मचारीलाई बजार ब्यबस्थापनका रुपमा छनोट गरेका छौं”,उहाँले भन्नुभयो“डेढ महिना अघि छनोट गरेका भएपनि अहिले ७ दिने तालिम दिएर बजारमा खटाउने गरि तयारी गरेका छौं ।”

ति कर्मचारीले अव्यवस्थित तथा फुटपाथमा राखिएका ठेला व्यवस्थापन, मापदण्ड विपरितका अन्य कार्यहरुको अनुगमन तथा नियमन गर्न खटिनेछन् । तालिम प्रदानकालागि इलाका प्रहरी कार्यालय तुलसीपुरले सहयोग गरेको छ । तालिम पश्चात एक जना कमाण्डर तोक्दिने र सोहीको मातहतमा सबैले काम गर्नेछन् ।