सुरक्षा प्रमुखलाई स्वागतको हानथाप

दाङमा एकैपटक सुरक्षा प्रमुखहरु फेरिएपछि एक तप्का पुनः सल्बलाउन थालेको छ । एकै पटक दाङका प्रमुख जिल्ला अधिकारी(सिडिओ), जिल्ला प्रहरी प्रमुख(एसपी) र डिएस्पी तथा इप्रका तुलसीपुरका प्रमुख नयाँ आएपछि अहिले एक तप्का स्वागत र सम्मानमै बढि समय खर्चिने गरेको छ । एक हिसाबले स्वागतको संस्कार ठीकै पनि हो, जुन निस्वार्थ होस् । तर, यहाँ आफ्नो स्वार्थ वरिपरि घुमाउन ब्यबसायी होस्, वा अन्य राजनीतिक दलहरु सक्रिय बन्छन् ।

विगतका इतिहास पनि त्यस्तै छन् । जहाँ केही ब्यक्ती र शक्ति केन्द्रको वरिपरि सुरक्षा प्रमुखहरु रुमल्लिदा पीडितले न्याय पाइरहेका हुँदैनन्, भने पिडकले उन्मुक्ती पाइरहेका हुन्छन् । ति पीडकहरु पटक–पटक अरुलाई पीडा दिन झन बल पाउछन् । यसले गर्दा शान्ति सुरक्षामा झनै असर गर्ने गर्छ । एउटा तप्काको प्रहरी कार्यालयमै दिन वित्ने गर्छन् ।


जो पीडित हुन्छ । जो सर्बसाधारण नागरिक छ, त्यसले स्वागत गर्ने मौका पनि पाउदैन् । जुन समुदाय पिछडिएको छ, समाजवाट पिल्सिएको छ, त्यो समुदाय सुरक्षा निकायको पहुँचमा पनि हुँदैन । उसले स्वागत गर्ने अवसर पनि पाउँदैन । तर, जो फुलमाला, अझ रेडिमेट खादा लिएर गेटमा पुग्छ, त्यस्तो मालाले अपराधलाई उन्मुक्ती दिने भारी बोकाइरहेको त छैनन्, भन्ने कुराको ख्याल गर्नु आबश्यक छ ।

दाङलाई सुरक्षाका हिसाबले निकै कम्जोर रहेको भनि चर्चा हुने गर्छ । त्यसमा पनि तुलसीपुर सहरलाई बाह्य लगानीकर्ताहरुले त्यसले विश्लेषण गर्ने गरेको तुलसीपुरका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले धेरै पटक भाषणमा भन्ने गर्थे । यसरी कम्जोर सुरक्षा अबस्था रहेको भनि चर्चा हुँदा बाह्य लगानीकर्ताहरुले लगानी गर्ने वातावरण सिर्जना हुन सकेको छैन । यसको एथेष्ट रुपमा सुरक्षा अबस्था कम्जोर रहेको भनि प्रमाणित गर्ने ‘डकुमेन्ट’ कहाँ छ, कसरी मूल्यांकन गरिएको भन्ने कुराको खोजी गर्नु आबश्यक छ । तुलसीपुर सुरक्षित छ, भन्ने कुराको सन्देश दिन सुरक्षा प्रमुखहरुमा चुनौति छ । यो कुरालाई मात्रै चिर्न सकियो भने तुलसीपुरमा बाह्य लगानीकर्ताहरु प्रवेश गर्नेछन् । यसले तुलसीपुरको विकासमा टेवा पु¥याउने छ । साभारः अग्रिम साप्ताहिक