संस्कृत विश्वविद्यालयकाे ताला खुल्याे

घोराही,५ असोज । अखिल क्रान्तिकारीले नेसंवि केन्द्रीय कार्यालय र नेसंवि सेवा आयोगमा लगाएको ताला बिहीबार खुलाइएको छ ।

वार्ता समिति र विद्यार्थी संगठनका प्रतिनिधिबीच पाँच बुँदे सहमति भएको थियो । विभिन्न चरणको वार्तापछि सहमति भएको जिल्ला संयोजक गिरबहादुर महराले जानकारी दिनुभयो । सहमतिमा पुर्वशिक्षाध्यक्ष प्राडा रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, सेवा आयोगका विज्ञापनहरुमा आवेदन फारामहरु अनलाइनबाट भर्ने व्यवस्था मिलाउने, कर्मचारीको आवश्यकता र औचित्यको आधारमा न्यायोचित व्यवस्थापन गर्ने, कर्मचारी पदका विज्ञापनका परीक्षाहरु केन्द्रीय कार्यालय दाङमै सञ्चालन गर्ने व्यवस्था मिलाउनेलगायतका सहमति भएका छन् ।


नेसंविका तर्फबाट वार्ता समितिका संयोजक डा. जर्मन चौधरी र सदस्यहरु किशोरचन्द्र गौतम, कपिलदेव सुवेदीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । यसैगरी विद्यार्थी संगठनका तर्फबाट केन्द्रीय विद्यापीठका विष्णु चौधरी, केन्द्रीय आयुर्वेद इकाई समितिका अध्यक्ष गणेश पौडेल र अखिल क्रान्तिकारी दाङ जिल्ला इञ्चार्ज बिन्दु खड्काले हस्ताक्षार गर्नुभएको छ ।