राजविद्यामा बाल दिवस तथा तीज मिलन कार्यक्रम सम्पन्न

दाङ, २९ भदौ ।
दाङको घोराहीस्थित राजविद्या पाठशालाले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयले एक कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बाल सङ्गठन दाङका सभापति बिनोद केसीले बालबालिकालाई किताबी पढाइसँगै व्यावहारिक सीप पनि सिकाउनुपर्नेमा जोड दिएका थिए । राजविद्या पाठशालाले पढाइसँगै व्यावहारिक सिपलाई जोड दिएको छ । विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापमा देखाएको प्रस्तुति यसलाई प्रस्ट पारेको छ । “उनले थपे, मेरो बच्चाबच्चीले कति पढे भन्दा पनि कति सिके भन्ने सोच अभिभावकले राख्न आवश्यक छ ।”

“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” नाराका साथ मनाइएको बाल दिवस कार्यक्रममा बालबालिकाले विभिन्न प्रस्तुति राखेका थिए ।


बालबालिकासँग सम्बन्धित “कालीकी छोरी” शीर्षकको लघु नाटक विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । साथै “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” शीर्षकमा विद्यार्थीहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए । वक्तृतृत्वकला कार्यक्रममा अस्मिन शाह र बेन्जिला वली प्रथम, अनुष रावत द्वितीय र भविष्का केसी तृतीय भएका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यसँगै योगा र तेक्वान्दो पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा नयाँ शैक्षिक सत्र प्रारम्भ भएपश्चात विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापमा प्राप्त गरेका उपलब्धिका मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । साथै विद्यालयले अभिभावक, शिक्षक तथा कर्मचारीका बिच तीज मिलन तथा दर कार्यक्रम पनि सम्पन्न गरेको छ ।

विद्यालयका प्रिन्सिपल टीकाजंग बिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यालयका डाइरेक्टर गणेश केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण छात्राद्वय सामना बस्नेत र फियोना पुनले गरेका थिए ।