
आलोक भावुक
गढवा, १४ असार।
गढवा गाउँपालिकाले कुपोषित बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गर्दै सहभागी बालबालिकाका लागि अण्डा वितरण गरेको छ। आइतबार गढवा गाउँपालिकाको आयोजनामा गढवा स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार कुपोषित बालबालिका तथा उनीहरूका अभिभावकको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बालबालिकाको सन्तुलित आहार, सरसफाइ, नियमित स्वास्थ्य परीक्षण तथा पोषणयुक्त खानाको महत्वबारे जानकारी गराइएको थियो।
कार्यक्रममा गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादव र गिरिराज अधिकारीले प्रशिक्षण दिँदै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँहरूले स्थानीय स्तरमा उपलब्ध खाद्यवस्तुको प्रयोगबाट समेत बालबालिकाको पोषण अवस्था सुधार गर्न सकिने जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले कुपोषण न्यूनीकरण गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै बालबालिकाको स्वास्थ्य र पोषणमा गरिएको लगानीले भविष्यमा स्वस्थ र सक्षम नागरिक निर्माणमा योगदान पुग्ने बताउनुभयो। उहाँले अभिभावकहरूलाई बालबालिकाको खानपान र हेरचाहमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
त्यसैगरी गढवा गाउँपालिका कार्यपालिका सदस्य चन्द्रा केसीले कुपोषण अन्त्यका लागि समुदाय, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी अभिभावकहरूलाई पोषणसम्बन्धी जानकारी प्रदान गर्नुका साथै बालबालिकाका लागि अण्डा वितरण गरिएको थियो। कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।



लाइभदाङ । १४ असार २०८३, आईतवार २३:१६ बजे