राप्ती गाउँपालिकाद्वारा तीज गीत प्रतियोगितामा देउखुरी टुडे डटकमको समुह प्रथम

तुल बहादुर कवँर मगर
देउखुरी, २७ भदौ ।
राप्ती गाउँपालिका दाङको आयोजना मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका–४ मौरीघाटको समुह प्रथम भएको छ।

लैंगिक हिंसा विरुद्धको विषयमा आयोजित प्रतियोगितामा कोपिला पञ्चेबाजा महिला समूह राप्ती-३ मसुरिया द्वितीय, ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती-२ लालमटियाको समूह तृतीय र स्मार्ट कृषि महिला समुह राप्ती–५ सिङ्गे सान्त्वना भएका छन्। गाउँपालिकाको कार्यालय मसुरियामा आयोजित प्रतियोगितामा १० वटा महिला समूहले भाग लिएका थिए ।

प्रतियोगितामा प्रथम,द्वितीय ,तृतीय र सान्त्वना हुने महिला समूहलाई क्रमशः १०हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिता राप्ती गाउँपालिकाकी कार्यपालिका सदस्य चम्फा भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियोे । सो अवसरमा बोल्दै सभामुख घर्तीले तीज पर्वलाई आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाउनु पर्ने बताउनुभयो ।

पछिल्लो समयमा तीज पर्वलाई भड्किलो तरिकाले मनाउन थालिएको प्रति चिन्ता व्यक्त गर्दै सभामुख घर्तीले आफ्नो मौलिक सांस्कृतिलाई बचाउनु पर्ने कुरामा जोड दिनुभयो । त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले माइती र चेलीको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने बताउनु भयो ।


पछिल्लो समय तीज पर्वमा विकृति बढ्दै गएको बताउदै अध्यक्ष विष्टले तीज पर्व हुने खानेको मात्रै नभई हुदा खानेको लागि पनि हुनु पर्ने बताउनुभयो । “अरुको देखासिकी नगरी आफू सँग जे छ त्यसैमा रमाउनु पर्छ।” अध्यक्ष विष्टले भन्नुभयो ।

कार्यक्रममा पूर्व न्याय परिषदका सदस्य पदम वैदिक ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरी,पालिकाका प्रवक्ता तथा २ नं.वडा अध्यक्ष पहलवान चौधरी लगायत अन्य जनप्रतिनिधि,महिला समूहका सदस्य ,कर्मचारी ,संचारकर्मीहरुको सहभागीता रहेको थियोे ।

पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख सीमा भट्टले गर्नु भएको थियो ।