मेट्रो कलेजले अनुसन्धनात्मक जर्नल प्रकाशन गर्ने

तुलसीपुर,२२ भदौ ।
तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा सञ्चालित तुलसीपुर मेट्रो कलेजले अनुसन्धनात्मक जर्नल प्रकाशन गर्ने भएको छ । बि.ए.एलएल.बी. कार्यक्रम सञ्चालन गरिरहेको कलेजले कानून सम्बन्धि विभिन्न विषयमा अनुसन्धान गरेर जर्नल प्रकाशन गर्न लागेको कानून संकाय संयोजक कोसीस गिरीले जानकारी दिए ।

उनले आगामी महिना जर्नल सार्वजनिक हुने समेत जानकारी दिए । यसैबिच जर्नल प्रकाशनका लागि ग्रिन फाउन्डेसन नेपालले आर्थिक सहयोग गर्ने भएको छ । तुलसीपुर मेट्रो कलेज सञ्चालक समिति अध्यक्ष टिकाराम खड्का र ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेका बिच जर्नल प्रकाशनका लागि १ लाख सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले कानूनले समाजलाई सुशासन र न्यायको बाटोमा हिडाउने भएकाले यसको परिपालना आवश्यक भएको कुरामा जोड दिए । विद्यार्थीहरुको क्षमता विकासका लागि अनुसन्धानको निकै महत्व हुने बताउँदै नगरप्रमुख खड्काले विद्यार्थीहरुलाई उत्प्रेरित गरेकोमा ग्रीन फाउन्डेशनलाई धन्यवाद समेत दिए ।


कार्यक्रममा बोल्दै ग्रीन फाउन्डेशन नेपालमा अध्यक्ष घनश्याम पाण्डेले अनुसन्धान बिना अध्ययन पूर्ण नहुने बताउँदै विद्यार्थीहरुलाई अनुसन्धानमा उत्प्रेरित गर्नका लागि सहयोग गरिएको बताए । ‘अनुसन्धानले हामीले गरेका कामहरु के कस्ता भए भन्ने बारेमा हामीलाई जानकारी समेत दिने गर्दछ’ पाण्डेले भने ।

कार्यक्रममा कलेज प्रमुख वसन्त आचार्यले कानून संकायलाई अनुसन्धनात्मक बनाउनका लागि सञ्चालन गरिएका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण विद्यार्थी तिर्सना रोकायाले गरेकी थिइन् ।