विद्यालयमै लाखे नाच

बासुदेव आचार्य
तुलसीपुर, १६ भदौ
करिब दिउँसोको एक बजेको सयय,सबै शिक्षक र विद्यार्थीहरु आ–आफ्नो कक्षाकोठामा शैक्षिणिक क्रियाकलापमा व्यस्त थिए, ठीक त्यतिबेला नै विद्यालयको प्राङ्गणमा खप्पर र मुकुट पहिरिएका एक हुल मानिसको डफ्फा देखापर्छ । सबै विद्यार्थीले झ्याल र ढोकाबाट नियाल्न थाल्छन्, वास्तविकता थियो, तुलसीपुर २ बालापुर दाङमा रहेको जनप्रिय इङ्लिस स्कुलले हराउँदै गएको लोक संस्कृति, लोक साहित्य र सभ्यताको संरक्षण गर्ने उद्देश्यले विद्यार्थीको ज्ञान र मनोरञ्जनको लागि बोलाएको लाखे नाच ।

पछिल्लो समयमा हाम्रा पूर्खाहरुले चल्तीमा ल्याएका केही संस्कृतिहरु लोप भइसकेका छन् र केही लोप हुने अवस्थामा देखिन्छन्। त्यही संस्कृतिको संरक्षण गर्ने उद्देश्यले लोखे नाचलाई विद्यार्थीले नजिकैबाट हेर्ने मौका पाउन् र किताबको पानाका कोरा ज्ञानलाई प्रत्यक्ष अवलोकन गरून् भन्ने उद्देश्यका साथ लाखे नाचलाई विद्यालय प्राङ्गणमै बोलाइएको थियो ।


लाखे नाच नाचिरहदा किंवदन्तीमा वर्णन गरिए अनुसार ज्यापू युवती , युवक, लाखे र स्वाके लगायतले ढोलक र झ्याम्टाको बाजा तालमा नाचिरहदा विद्यार्थीले एक टकले त्यो दृश्यलाई नियाल्दै ज्ञानसँगै मनोरञ्जन लिइएका थिए। यो लाखे नाचको कार्यक्रमले विद्यार्थीलाई नवीन ज्ञान र उत्साहसँगै पढेका कुरालाई नजिकैबाट बुझ्ने अवसर दिएको जनप्रिय बाल क्लबका अध्यक्ष अनन्त गिरीले बताए।

त्यसैगरी हाम्रा आदिम संस्कृतिको मूल्य मान्यतासँगै हराउँदै गइरहेको हाम्रो मौलिक संस्कार, संस्कृति र सभ्यताको गहिराइमा विदेशी संस्कृतिको अनुसरण भइरहेको वर्तमानमा अवस्थामा यो नाचले विद्यार्थीमा प्राचीन संस्कृतिको बोध गराउनको साथै सकारात्मक भावनाको पनि विकास गराउन महत्त्वपूर्ण भूमिका खेलेको कुरा विद्यालयका प्राचार्य प्रकाश कुमार बताउनुभयो ।