
दाङ, १२ भदौ । राष्ट्रिय भुमी अधिकार मञ्च दाङको छैटौ जिल्ला सम्मेलन मंगलबार घोराहीमा सम्पन्न गरिएको छ । सम्मेलनमा सहभागी हुनका लागि जिल्लाका विभिन्न स्थानबाट आएका नागरिकहरुले नेता र सरोकारवाला निकायले लालपुर्जा दिने आश्वासन दिएपनि आफ्ना लागि प्रभावकारी योजनाका साथ काम हुन नसकेको गुनासो गरेका थिए ।
घोराही १८ नयाँबस्तीका सम्झना चौधरीले स्थानिय तहदेखी प्रदेश र संघिय चुनावका बेलामा नेताले लालपुर्जा दिने भाषण गरेपनि सरकारमा पुगेपछि सुकुम्बासीका कुरालाई भुल्ने गरेको बताउनुभयो । देशका केही ठाउँमा लालपुर्जा वितरण भैसकेको समाचार सुन्दा आशा पलाउने गरेपनि आफ्नो ठाउँमा पटक पटक फर्म भराउने बाहेक अरु काम नहुदा निराश बनाउने चौधरीले बताउनुभयो ।
मञ्चका जिल्ला अध्यक्ष देउमन दमाईको अध्यक्षता तथा मञ्चका केन्द्रिय कार्यवहाक अध्यक्ष मेघबहादुर विसीको प्रमुख आतिथ्यतामा छैटौ जिल्ला सम्मेलन सम्पन्न गरिएको थियो । भुमीहिन सुकुम्बासीहरुलाई लालपुर्जा दिनका लागि नेपाल सरकारले भुमी आयोग सञ्चालन गरेर काम गरेपनि काममा ढिला सुस्ती भएको प्रमुख अतिथी विसीले बताउनुभयो ।
सरकारले भुमीहिन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने उद्देश्यका साथ जिल्ला– जिल्लामा सञ्चालनमा ल्याएको भुमी आयोगले पनि आफ्नो कामलाई छिटो छरितो बताउनुपर्ने बताउनुभयो । उहाँले पुर्वका केही जिल्लामा लालपुर्जा वितरणको काम भएपनि केही जिल्लामा आयोगहरुको काम निश्क्रिय रहेको विसीले बताउनुभयो ।
मञ्चको केन्द्रिय संस्थापक अध्यक्ष शान्ता चौधरीले गरिवी, भुमीहिन तथा सुकुम्बासीहरुले नेतृत्व गर्ने क्षमताको विकास गर्न आवश्यक रहेको बताउनु भयो । सामाजिक तथा राजनितिक हिसाबले समाजमा आफुलाई अब्बल बनाएर परिचित हुने कुरामा ध्यान दिदै आफ्नो समस्या समाधानका लागि आवाज उठाउनु पर्ने बताउनुभयो ।
एमाले नेतृ समेत रहनुभएकी चौधरीले आफु सांसद हुदा सदनमा गरिव तथा भुमिहिन सुकुम्बासीका कुरा उठाउने गरेपनि अहिले भुमिहिन सुकुम्बासीका बारेमा कसैले आवाज नउठाउने गरेको बताउनुभयो । त्यसैले संसदमा भुमिहिन सुकुम्बासीका समस्या राख्दै समाधानको उपाय खोज्न भुमिहिन सुकुम्बासीहरुले नेतृत्व गर्ने क्षमताको विकास गर्नु वर्तमान समयको आवश्यकता भएको चौधरीले बताउनु भयो ।
सम्मेलनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका जिल्ला सचिव अर्जनुकुमार योगी, मओवादी केन्द्रका विश्वराज आचार्य, नेकपा एमालेका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, मञ्चका प्रदेश सदस्य तथा घोराही १४ का वडा सदस्य रचना कुमाल, पुर्व जिल्ला अध्यक्षहरु निर्माला विक, लिला विक, हरी चौधरीले भुमीहनि सुकुम्बासीका समस्या साधानका लागि सरकारले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए ।
यो समाचार तयार पार्दासम्म सम्मेलनको बन्द सत्रले नयाँ नेतृत्वका लागि अझै सहमति जुटाउन सकेको छैन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष देउमान दमाई र उपाध्यक्ष श्रृजना चौधरीले दाबी गरेपनि सहमति जुटाउने प्रयास भैरेहेको मञ्चले जनाएको छ ।



लाइभदाङ । १२ भाद्र २०८०, मंगलवार १९:३२ बजे