तुलसीपुर एयरपोर्टको डीपीआर पूरा

दीपक बोहरा
तुलसीपुर, २९ माघ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा न.१२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिबेदन(डीपीआर) तयार भएको छ । उक्त डीपीआर अनुसार बिभिन्न ४ वटा विकल्प दिईएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजादा १५ सय मिटर मात्रै धावन मार्ग हुन सक्ने भएकाले उत्तरतर्फ तन्काएर १७०० मिटर बनाउन सकिने, स्थानीयको जग्गा लिजमा लिएर विमान विस्तार गर्न सकिनेजस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताउनुभयो ।

उहाँका अनुसार डीपीआरमा दिईएका विकल्पमा तुलसीपुरमा सरोकारवालासंग छलफल गर्ने तयारी रहेको समेत बताउनुभयो । छलफल पछि एउटा निष्कर्ष निकाल्ने र त्यही अनुसार संघीय सरकारसंग बजेटकालागि पहल गर्ने तयारी रहेको उपप्रमुख चौधरीले बताउनुभयो ।


हाल विमान स्थलको धावनमार्ग ७५० मिटर मात्रै लम्बाई छ । त्यसमा १९ सिटे भन्दा ठूला जहाज बस्न सक्ने अबस्था छैन । त्यसैले यसलाई विस्तारकालागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति बनाएर दवाव दिइरहेको छ ।

हाल नेपाल एयरलाईन्सको १९ सिटे टुईनेटरले उडान भरिरहेको छ । फागुन ३ गतेदेखि सीता एयरको जहाजले पनि उडान भर्ने तयारी गरेको छ । तर, भाडा भने ८ हजार कायम रहनेछ ।