
सलिम मियाँ
प्यूठान,२५ बैशाख ।
सासूको हत्या प्रकरणमा प्यूठान प्रहरीले तीन वर्षपछि बुहारीलाई पक्राउ गरेको छ । घटनामा मृतककी सौतेनी कान्छी बुहारी ३२ बर्षिया चेती सुनारको संलग्नता खुलेपछि उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारी नगरपालिका-६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनारको शव २०७९ मंसिर १ गते स्थानीय भुपाल घर्तीको बारीमा फेला परेको थियो । प्यारालाइसिसबाट थलिएकी उनी टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार घटनामा तत्काल कुनै प्रतिवादी पहिचान हुन नसकेपछि मुद्दा लामो समयसम्म पेन्डिङु मा रहेको थियो । पछिल्लो अनुसन्धानमा मृतककी सौतेनी कान्छी बुहारीको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत प्यूठानले कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । प्रहरीले बुधबार नै पक्राउ पुर्जी लिएर उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मृतक लामो समयदेखि ओछ्यानमै थलिएकी थिइन् र दुई बुहारीले रेखदेख गर्दै आएका थिए ।प्रहरी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा रेखदेखको क्रममा सौतेनी कान्छी बुहारी आजित भएको हुनसक्ने देखिएको छ । टाउकोमा प्रहार गरी हत्या गरिएको र शव घिसारेर बारीमा फालिएको आशंका छ, भट्टराईले भने, “केही आधार फेला परिसकेका छन्, थप प्रमाण संकलन भइरहेको छ ।
प्रहरीले घटनाको निष्पक्ष अनुसन्धानमा जोड दिँदै निर्दोष नफसून् र दोषी नउम्कून् भन्ने उद्देश्यसहित काम भइरहेको जनाएको छ । तीन वर्ष पुरानो उक्त घटनासँग सम्बन्धित थप प्रमाण र विवरण संकलनपछि अनुसन्धान प्रतिवेदन अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।



लाइभदाङ । २५ बैशाख २०८३, शुक्रबार २१:४८ बजे