ट्रेड टावर निर्माणको काम २५ प्रतिशत

टेकराज भण्डारी
तुलसीपुर,११ भदौ ।
दाङको तुलसीपुरमा निर्माण भइरहेको ट्रेड टावर निर्माणको काम २५ प्रतिशत पूरा भएको छ । उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ ब्यापारिक तथा प्रशासनीय प्रयोजनकालागि ट्रेड टावर निर्माण कार्य सुरु भएको ११ महिना भयो ।

हालसम्म वेसमेन्ट र अन्डरग्राउन्डको काम सम्पन्न भएको इन्जिनियर पवन कुमार योगीले बताए । उनका अनुसार साढे १४ करोड ४२ लाख लागतमा बहुउद्देश्य व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको हो ।

जहाँ अन्डरग्राउन्डसहित ७ तलाको टावर निर्माण हुनेछ । साढे १७ मिटर लम्बाई र ३४ मिटर चौडाई रहेको टावरको निर्माण कार्य तीन वर्षमा पूरा गर्नेगरी सम्झौता भएको छ । निर्माण कम्पनी डायनामिक, नारायणम जे.भि.ले भ्याट बाहेक २३ करोडमा ठेक्का लिएको इन्जिनियर योगीले बताए ।


कुल लागत मध्य ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । ‘भूमिगत गाडी पार्किङ’ पनि निर्माण हुने छ ।

उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैकिङ् कारोबार, सभाहल, रेष्टुरेन्ट सञ्चालनमा आउनेछन् । उक्त भवन २०८१ चैत मसान्तसम्म सक्ने गरि सम्झौता भएको छ ।