रोल्पा दुर्घटना : मृतक चारैजनाको सनाखत

रोल्पा, २३ साउन ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ ऋचीमा मंगलबार बस दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा माडी गाउँपालिका– २ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका– ४ का ५० वर्षीय गोरख डाँगी र उनकी श्रीमती ५० वर्षीया हस्ता डाँगी तथा परिवर्तन गाउँपालिका– ३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस ऋचीमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाहरुलाई जिप र एम्बुलेन्समा थप उपचारका लागि दाङको घोराही पठाइएको छ ।


बसमा बागमाराबाट १८ जनाले टिकट काटेको भनिए पनि बाटोमा अन्य यात्रु पनि सवार रहेको बुझिएको छ । सहिद मार्गको ऋचीमा कच्ची सडक र हिलाम्मे भएका कारण चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बस सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए ।

सदरमुकाम लिबाङबाट प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी नायब उपरीक्षक श्याम सारुमगरलगायतको टोली घटनास्थल पुगेको छ । दुर्घटनालगत्तै नेपाल प्रहरीका दारबोट, जुँगार तथा सशस्त्र प्रहरी बलसमेत उद्धारमा खटिएको थियो ।