दाङमा अवैध रुपमा सालको काठ काटेको आरोप ३ जना पक्राउ

दाङ, २१ साउन ।
दाङमा अवैध रुपमा सालको रुख काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

गएराति करिब ९ बजेतिर गढवा गाउँपालिका–४ स्थित सालझुण्डी सामुदायिक वनबाट अवैध रुपमा काँचो सालको रुख काटेर घप्पु बनाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए ।


पक्राउ पर्नेमा गढवा गाउँपालिका-४ निवासी ३३ बर्षिय देवराज बोटे, २७ बर्षिय कमलबहादुर माझी र २० बर्षिय अमरबहादुर माझी रहेका छन् । प्रहरी चौकी गोवरडिहाले गस्ती गर्ने क्रममा सालको काठ कटान गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालय गोवरडिहामा बुझाएको प्रहरीले बताएको छ ।