रफिकोलद्वारा ५१ हजार सहयोग

तुलसीपुर, २२ भदौ ।
गएको भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै तुलसीपुरको एक सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै तुलसीपुरको राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि।ले ५१ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सहकारी संस्थाको भदौ १८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो । सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।


घटनामा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै घाइतेको उपचार तथा राहत र उद्धारमा सबै पक्षलाई कुशलतापूर्वक कार्य गर्न अनुरोध गरिएको छ ।