तुलसीपुर कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

तुलसीपुर, १७ भदौ ।
दाङको तुलसीपुरस्थित कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशीका बाढीपीडितका लागि ६० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूलाई राहत स्वरूप उनीहरूले ६० हजार २० रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्।

सरकारले दैनिक जीवनयापनका लागि उपलब्ध गराउँदै आएको रासन भत्ताबाट दुई दिनको रकम कटौती गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको कारागार प्रशासक गिरबहादुर सिजवालले जानकारी दिए। उनका अनुसार नेपाल सरकारबाट प्राप्त हुने दैनिक रु। ८० नगद र ७ सय ग्राम चामल बराबरको रकम कटाएर सहयोग जुटाइएको हो।


कारागारका तीनवटै ब्लकमा रहेका कुल ४ सय ७ जना कैदीबन्दीहरूले सो रकम सङ्कलन गरेका हुन्। सङ्कलित राहत रकम बुधबार दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई हस्तान्तरण गरिएको कारागारका जनस्वास्थ्य निरीक्षक द्रोण वलीले बताए।

विपद्को समयमा मानवीय दायित्व बोध गर्दै सम्पूर्ण कैदीबन्दीहरूको सहमतिमा सो सहयोग गरिएको जनस्वास्थ्य निरीक्षक वलीले जानकारी दिए।