सल्यानमा कर्मचारीमाथि कुटपिट

सल्यान, ११ साउन ।
सल्यानमा एक कर्मचारीमाथी कुटपिट भएको छ । त्रिवेणी गाउँपालिका पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथि कार्यकक्षमै कुटपिट भएको हो ।

बुधबार दिउँसो त्रिवेणी गाउँपालिका-६ कोसपिपल निवासी जनक बुढाथोकीले बिना कुनै कारण शाखा प्रमुखमाथि आक्रमण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकै उत्कृष्ट कर्मचारी रावतमाथि कार्यकक्षमै विना कारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले कुटपिट गर्ने व्यक्तिलाई प्रहरीको जिम्मा लगाई कारवाहीका लागि उजुरी दिएको बताउनुभयो ।


बुढाथोकीले ५/६ पटक रावतमाथि टाउकोमा प्रहार गरेको उहाँले बताउनुभयो । काम गरिरहेकै समयमा कुटपिट गरेको भन्ने खबर आउने बित्तीकै बुढाथोकीलाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।

केही वर्ष पहिले पनि त्रिवेणी गाउँपालिकामा लेखा प्रमुखमाथि कुटपिट भएको भन्दै पशु विकास शाखा प्रमुख रावतले राष्ट्रसेवक कर्मचारीमाथि कुनै कमजोरी बिना आक्रमण, कुटपिट हुनु दुःखद विषय भएकोले आफ्नो जीउज्यानको सुरक्षाका लागि भएपनि दोषीलाइ कारवाहीको लागि जाहेरी दिएको बताउनुभयो ।