किसानका खेतमा सिरिञ्ज कहिलेसम्म ?

दीपक बोहरा
दाङ, ३ साउन ।
तुलसीपुर बजारमा फोहर ब्यबस्थापन हुन सकेको छैन । स्वास्थ्यलाई अति असर गर्ने फोहरजन्य बस्तु नालीमा फालिन्छ । त्यही फोहरलाई बर्षादको पानीले बगाएर किसानको खेत र घर आँगणमा पुर्‍याउछ । यही मार बर्सेनी खेप्दै आएका तुलसीपुर बजारदेखि दक्षिण तर्फ बसोबास गर्ने नागरिकले ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१०,११ र १२ का किसानको खेतमै अस्पतालजन्य फोहर सिरिञ्ज, सिसासहित होटेलेले फालेका सिसाका बोतलहरु पनि खेतमै पुग्ने गरेका छन् । यो विषयमा त्यहाँका किसानले पटक-पटक ध्यानाकर्षण पनि गराउने गरेका छन् । तर, सुनुवाई नभएको गुनासो गर्ने गरेका छन् ।“यो विषयमा हामीले पटक-पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गरायौं”,तुलसीपुर ११ कटाहाका जनकलाल चौधरीले भने “ तर, पनि यसमा कुनै चासो भएको छैन ।”

प्रत्येक बर्ष बर्षादको समयमा किसानहरु उपमहानगरपालिका कार्यालयमा ध्यानाकर्षण गराउन पुग्छन् । खेत रोप्दा सिसाले काट्ने गरेको, खेतलाई गोडमेल गर्न पनि नसक्ने अबस्था रहेको, आँगणमै फोहोरको गन्ध आउने गरेको त्यहाँका किसानको पटक-पटक गुनासो हुन्छ । तर, चासो नदिएकाले समस्या ज्यूका त्यू रहेकाले अब कडा कदम चाल्ने स्थानीय रेशम केसीले भने ।“अब हामी खेतमा गएको सबै फोहर ट्याक्टरमा हालेर उपमहानगरपालिकाको गेटमा छोडिदिन्छौं ।”, उनले भने ।


खेतमा, घर आँगणमा आएको फोहरलाई एक ठाउँमा जम्मा गरिदिने गरेको भएपनि उपमहानगरपालिकाको फोहर फाल्ने गाडी समेत नआउने गरेको उहाँहरुको गुनासो छ । फोहरको गाडीले लगेपनि धेरै राहात हुने किसानहरुको भनाई छ । तर, उपमहानगरपालिका सरसफाई ब्यबस्थापन शाखा प्रमुख माधव पौडेलले फोहर ब्यबस्थापनकालागि ट्याक्टर प्रयोग गर्ने गरेको बताए । “हामीसंग ६ जना फोहरका कर्मचारी र ट्याक्टर लिएर जाने गरेका छौं”,उनले भने “ त्यसले किसानका खेतको फोहर उठाउने गरेका छौं ।”

बजार बासीले फोहर जम्मा गरेर गाडीमा दिने भन्दा पनि जहाँ पायो त्यही फालिदिने गर्दा पनि यस्तो समस्या बर्षेनी देखिने गरेको छ ।