दाङमा ८ सय ५७ विद्यार्थीले ल्याए ए प्लस

दाङ, २२ असार ।
दाङमा ८ सय ५७ जना विद्यार्थीले ए प्लस नतिजा ल्याउन सफल भएका छन् । बिहीबार प्रकाशित नतिजा अनुसार, जिल्लामा २०७९ को एसइईमा सहभागी भएका कुल १३ हजार ४ सय ५५ जना विद्यार्थीमध्ये ६ दशमलव ३७ प्रतिशत विद्यार्थीले ए प्लस ग्रेड ल्याएका हुन् ।

गत चैत १७ गतेबाट भएको एसइई परीक्षामा जिल्लाबाट ग्रेड वृद्धिसहित सामुदायिक र संस्थागत विद्यालयबाट यो पटक परीक्षाका लागि आवेदन दिएका मध्ये १३ हजार १ सय ८७ जनाको नतिजा आएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दाङले जनाएको छ ।

परीक्षामा साधारण धारतर्फ १२ हजार ८ सय २८ जना, प्राविधिक धारतर्फ ३ सय ४० जना र ग्रेडवृद्धि तर्फ २ सय ८७ जना परीक्षार्थीले परीक्षाका लागि आवेदन दिएकोमा साधारण धारतर्फ १२ हजार ६ सय ७३ जना, प्राविधिक धारतर्फ ३ सय ३७ जना र ग्रेडवृद्धि तर्फ १ सय ७७ जना मात्रै परीक्षा दिएको समन्वय इकाई प्रमुख देवमणि चौधरीले जानकारी दिए ।


उनका अनुसार, ए ल्याउने विद्यार्थीको संख्या १ हजार ८ सय ५८, बी प्लस ल्याउने विद्यार्थीको संख्या २ हजार ७३, बी ल्याउने विद्यार्थीको संख्या २ हजार ३ सय ४७ जना रहेको छ । यसैगरी, सी प्लस ल्याउने विद्यार्थीको संख्या २ हजार २ सय १४, सी ल्याउने विद्यार्थीको संख्या २ हजार ३ सय ४६, डी प्लस ल्याउने विद्यार्थीको संख्या १ हजार ३ सय ९५ र डी ल्याउने विद्यार्थीको संख्या ९७ जना रहेको समन्वय इकाई प्रमुख चौधरीले जानकारी दिए । जिल्लाबाट परीक्षामा ई ग्रेड ल्याउने विद्यार्थीको संख्या शुन्य रहेको छ ।

परीक्षामा १ सय ८५ जना अनुपस्थित भएका थिए भने ८४ जनाको ग्रेड वृद्धि नभएको पनि शिक्षा विकास तथा समन्वय इकाई दाङले जनाएको छ । परीक्षामा जिल्लाका १० वटा पालिकाका २ सय ३६ विद्यालयबाट परीक्षार्थीहरू सहभागी भएका हुन् । जिल्लाभर ४५ वटा परीक्षा केन्द्र तोकिएको थियो ।