अक्षर सुधार अभियानमा‘तुलसीपुर’

तुलसीपुर,२७ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान थालेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार तालीम प्रदान गरिएको छ ।

शिक्षकलाई तीन दिने तालीम प्रदान गरेपछि ति शिक्षकहरुले विद्यालयमा विद्यार्थीहरुलाई अक्षर सुधार गर्न सिकाउने उहाँले बताउनुभयो ।“हामीले विद्यार्थीका अक्षर सुधारकालागि अभियान थालेका छौं”,उहाँले भन्नुभयो“पहिलो चरणमा तुलसीपुरका सबै विद्यालयबाट शिक्षकहरु बोलाएर तालीम प्रदान गरेका छौं, ति शिक्षकहरुले विद्यार्थीहरुलाई अक्षर सुधार गर्न लागाउनु हुनेछ ।”

विद्यार्थीहरुले ज्ञान आर्जन गरेको कुरा परीक्षामा ब्यक्त गर्ने माध्याम भनेको अक्षर नै भएकाले अक्षर सुधार पनि महत्वपूर्ण रहने भन्दै यो अभियान चलाएको उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो ।“पढेर मात्रै हुँदैन, पढेको कुरा अक्षरमा उतार्नुपर्ने र लेखेको कुरा सबैले बुझ्ने हुनुपर्छ”,उहाँले भन्नुभयो“तर, हामी जति ज्ञानी भएपनि अक्षर कसैले नबुझ्ने भएमा त्यसले कुनै प्रभाब पार्दैन्, त्यसैले हामीले यो अभियान अघि बढाएका हौं ।”

पहिलो चरणमा अक्षर सुधारकालागि शिक्षकहरुलाई तालिम दिएको र त्यो कुरा ब्यबहारमा उतारेको–नउतारेको कुराको विद्यालयमै गएर अनुगमन पनि गरिने उहाँले बताउनुभयो ।


शिक्षकहरुले अक्षर सुधार कार्य एकदमै महत्वपूर्ण रहेको बताएका छन् ।“हामीले अझै पनि अक्षर लेख्न पनि जानेका रहेनछौं, बाक्य संरचना कसरी मिलाउँदा अक्षर सुन्दर हुँदो रहेछन्, भन्ने कुरा ख्याल रहेनछ”, मावि प्रतापकोटका शिक्षक मेघराज पोख्रेलले भन्नुभयो“शिक्षकले अक्षर सुधार गरेमा सोही अनुसार विद्यार्थीलाई पनि सिकाउन सजिलो हुन्छ, त्यसैले यो कार्य एकदमै राम्रो छ ।” विद्यार्थीलाई राम्रो लेख्न भनि निर्देशन गर्ने तर, कसरी राम्रो अक्षर लेख्ने भन्ने कुराको तरिका शिक्षकहरुलाई नै थाहा नहुँने अबस्था रहेको भन्दै यो कार्यक्रम आबश्यक रहेको उहाँको भनाई थियो ।

धेरै विद्यार्थीहरु अक्षरकै कारण अनुतिर्ण हुने गरेको भन्दै अक्षर पनि शिक्षणको महत्वपूर्ण पाटो रहेको प्रशिक्षक हिमाल डाँगीले बताउनुभयो ।“धेरै विद्यार्थीहरु अक्षरकै कारण अनुतिर्ण हुनु भएको छ, भने केहीले सोचेजस्तो अंक पनि ल्याउन सक्नु भएको छैन”,उहाँले भन्नुभयो“त्यसैले पनि अक्षर सुधार अपरिहार्य छ ।” संस्थागत विद्यालयहरुले अक्षरलाई पनि ध्यान दिने तर, सरकारी विद्यालयले अक्षरमा त्यति ध्यान नदिदा पनि समस्या भएको उहाँको भनाई छ ।