दंगीशरण गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

प्रमोद आचार्य 
दंगीशरण, २१ असार ।
दाङको दंगीशरण गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । बिहीवार एक कार्यक्रमको आयोजना गरेर पूर्णखोप सुनिश्चित पालिकालाई घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चित गाउँपालिका भएको घोषणा गर्दै खोप कार्यक्रम निरन्तर चलिरहने र निर्धारित उमेर समूहका सबै बालबालिकाले खोप अनिवार्य लगाउनुपर्ने नेपाल सरकारको लक्ष्यअनुसार जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित घोषणा र प्रमाणिकरण गर्ने कार्य अभियानकै रुपमा अगाडि बढाइरहेको बताए ।
सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताए ।
खोप कार्यक्रम स्वास्थ्य क्षेत्रको सबैभन्दा सफल कार्यक्रम भएकाले कुनैपनि बालबालिका नछुट्ने गरी आगामी वर्षहरुमा सुक्ष्म ढङ्गले अभियानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । उक्त गाउँपालिकामा जन्मेदेखि १५ महिना मुनि खोप लगाउने ४५६  जना र  १६ महिना देखी माथि खोप लगाउने १०६४ जना रहेको अध्यक्ष गिरीले बताए । यस्तै आंसिक खोप लगाउने बच्चा १८ जना भेटीएको र आगामी वर्ष यसलाई कम गराउन तर्फ लाग्न स्वास्थ्यकर्मीहरुलाई अध्यक्ष गिरीले आग्रह गरे ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत किशोर आचार्यले पूर्णखोप गाउँपालिका घोषणा गर्न गरिएका अभियानका विभिन्न चरणहरुबारे जानकारी गराएका थिए । पालिकाका  खोप समन्वय समिति सदस्य गाउँपालिकाका उपाध्यक्ष पिमा वलि खड्का, वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता रमेश भण्डारी  लगायतले खोपका विविध विषयमा चर्चा गरेका थिए ।गाउँपालिकाका स्वास्थ्यसाखा प्रमुख राजेन्द्र हमालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पालिकाका जन स्वास्थ्य निरीक्षक प्रदिप योगीले गरेका थिए ।