देउखुरी,२० असार । लुम्बिनी प्रदेशसभाले बिनियोजन विद्येयक पारीत गरेको छ । प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को सेवा र कार्यको लागि लुम्बिनी प्रदेश,प्रदेश सञ्चिति कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक बहुमतले पारीत गरेको हो ।
बुधबार बसेको दोस्रो अधिवेशनको १७ औं बैठकले उक्त विद्येयक पारित गरेसंगै ‘प्रदेश विनियोजन ऐन २०८०’ नामाकरण गरिएको छ । यस अघिका बैठकमा प्रतिपक्ष दल एमालेका सांसदहरुले अबरोध गरेपछि छलफल हुन सकेको थिएन ।
मंगलबार साँझ सभामुखको रोहबरमा मुख्यमन्त्री डिल्ली चौधरी, अर्थमन्त्री धनबहादुर मास्कीसहित प्रतिपक्ष दलका नेताहरुसंग छलफल भएपछि बुधबार बैठक सहज रुपमा चलेको थियो ।
मुख्यमन्त्री चौधरीले प्रतिपक्ष दलका नेताको मागमा गम्भीर रहेको भनि सभालाई सम्बोधन गरेपछि प्रतिपक्ष दलका सांसहरुले सभालाई सहज रुपमा सञ्चालन गर्न दिएका थिए । यस अघि प्रदेशसभाले राजश्व र व्ययको अनुमान पारीत गरेको थियो । आजै अर्थमन्त्री मास्कीले ‘प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पेश गरेका छन् । सोही विधेयकमाथि साढे ७ बजेदेखि छलफल हुनेछ ।
लाइभदाङ । २० असार २०८०, बुधबार १९:५० बजे