दीपक बोहरा
तुलसीपुर,२० असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडी बढ्न चाहेको बताउनु भएको छ । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसंग संगै हिड्ने, उहाँहरुका माग सम्बोधन गरेर हिड्न चाहेको बताउनुभयो ।
त्यस्तै उहाँले सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिने समेत बताउनुभयो ।“प्रदेशको औचित्य माथि पनि प्रश्न चिन्ह उठेको अबस्था छ”,उहाँले भन्नुभयो“यस्तो अबस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।”
साथै उहाँले सभामा बोल्दा मर्यादित शब्द बोल्नु पर्ने समेत बताउनुभयो । मुख्यमन्त्रीको सम्बोधन पछि प्रमुख प्रतिपक्ष एमालेले पनि छलफलमा भाग लिएको छ । प्रदेशको बजेट बक्तब्य पछिका प्रत्येक बैठकमा नाराबाजी गर्दै आएको एमालेले बुधबार देखि छलफलमा भाग लिएको हो ।
सभाको दोस्रो अधिवेशनको १७ औं बैठकमा बजेटमाथि छलफल भइरहेको छ ।
लाइभदाङ । २० असार २०८०, बुधबार १४:२१ बजे