अर्थमन्त्री मास्कीद्वारा शहीद कृष्णसेन शिक्षालयको अवलोकन

तुलसीपुर,१७ असार ।
लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले दाङको घोराही स्थित शहीद कृष्णसेन स्मृति बहुप्राविधिक शिक्षालयको अवलोकन गर्नुभएको छ । शहीदका नाममा खोलिएको उक्त शिक्षालयमा हाल डिप्लोमा तथा अन्य गरि १२ वटा प्राविधिक बिषयको अध्यापन भइरहेको छ ।

त्यस क्रममा प्रमुख अच्युतराज दाहालले शिक्षालयमा आवश्यक पूर्वाधार निर्माण भएकाले त्यसलाई सजावटकालागि बजेट आवश्यक रहेको बताउनुभयो । साथै स्कुल बसलगायत आवश्यक रहेको बताउनुभयो ।

त्यस अवसरमा मन्त्री मास्कीले अहिले प्रदेश सरकारले २० लाख रुपैयाँ उपलब्ध गराएको र आगामी दिनमा पनि आवश्यक बजेटको ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।


उहाँले राष्ट्रिय शहीदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयहरुलाई राजनीतिक पूर्वाग्राही ढंगले नहेरी सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । उहाँले शहीदको नाममा खोलिएका यस्ता शिक्षालयहरुलाई अझ शसक्त बनाउनु पर्ने समेत बताउनुभयो ।

कृष्णसेन सबै प्रदेशमा एक नमूना शिक्षालय अन्तर्गत लुम्बिनी प्रदेशको नमूना शिक्षालय रहेको सहायक प्रमुख केशरमान वीसीले बताउनुभयो । उहाँका अनुसार २०७५ सालदेखि उक्त शिक्षालय सञ्चालनमा आएको हो ।

हाल शिक्षालयमा विभिन्न विषयमा ३०८ विद्यार्थीले अध्यापन गरिरहेका छन् । वन विज्ञान,फुड एण्ड डेरीलगायतका विषयहरु अध्यापन हुने गरेका छन् ।