
तुलसीपुर, १६ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले जिल्ला भर होटेल सञ्चालन गर्ने समयका विषयमा एकरुपता हुनुपर्ने बताएका छन् ।
तुलसीपुरमा होटेल ब्यबसायी सञ्चालन गर्दा राति ९ बजेपछि प्रहरीले धरपटक गर्ने गरेको भन्दै ब्यबसायीहरुले ध्यानाकर्षण गराएपछि सोमबार विहान उपमहानगरपालिकाले सर्वपक्षिय बैठक बोलाएको थियो ।
सोही बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले जिल्लाका अन्य स्थालका होटेल तथा ब्यबसाय सञ्चालनकालागि मापदण्ड अनुसार एकरुपता हुनुपर्ने बताए । साथै ब्यबसायिको सुरक्षा सुरक्षित गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । तुलसीपुरमा ९ बजेपछि होटेल खोलेको भन्दै एक ब्यबसायीलाई हतकडी लगाएपछि तुलसीपुरका होटेल ब्यबसायी आक्रोसित भएका छन् ।
यो समस्या समाधान नभए होटेल बन्द गरेरै आन्दोलन गर्ने समेत जनाएका छन् । जिल्ला सुरक्षा समितिले राति ११ बजेसम्म होटेल खोल्न पाउने गरि निर्णय गरेको भन्दै त्यो कुरा लागु हुनुपर्ने होटेल ब्यबसायीको माग छ । बैठकमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, ब्यबसायीक संगठनका प्रमुख तथा प्रतिनिधि, हाेटेल ब्यबसायीलगायतकाे सहभागिता रहेको थियो ।




लाइभदाङ । १६ भाद्र २०८२, सोमबार १२:२७ बजे