दंगीशरणमा २० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव

प्रमोद आचार्य
दंगीशरण, १५ असार ।
बुलबुलिया दंगीशरण ३ चखौराको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहयोगमा २० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सब २०८० दंगीशरणको चखौरामा सम्पन्न भएकोछ।

‘जलवायु अनुकुलित कृषक मैत्री प्रविधि,धान उत्पादनमा वृद्धि’ भन्ने मुल नारा सहित धान दिवस कार्यक्रम गरीएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले गाउँपालिका कृषि साखाले उन्नत जातको धानको बिउ खरीद गरी अनुदानमा वितरण गरेकाले अब सबै किसानहरु उन्नत जातको धानको बिउ प्रती आकार्षित हुन आग्रह गर्नुभयो ।

यस्तै अध्यक्ष गिरीले रासायनिक मलको अभाव राष्ट्रिय समस्या रहेकाले आफु दुखि भएको बताउदै रासायनिक मललाई न्यूनीकरण गरी प्राङ्ग्गारीक मलको प्रयोग तर्फ लाग्न आग्रह गर्नुभयो । जलवायु अनुकुलित प्रविधि अपनाएर धान उत्पादनमा वृद्धि गर्ने प्रमुख उदेश्यका साथ २० औं धान दिवसको अवसरमा धान रोपाइ महोत्सव आयोजना गरीएको गिरीले बताउनुभयो ।


धान दिवस कार्यक्रम बुलबुलिया कृषक समुहका अध्यक्ष रबिन्द्र चौधरीको सभापतीत्व,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईको बिशिष्ट आथित्यतामा भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य,अध्यक्ष, संघसंस्थाका प्रतीनिधि,किसान कृषि समुहका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रम पश्चात समुहका अध्यक्ष रबिन्द्र चौधरीको करीब ५ कठा खेतमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले धान रोपेर धान रोपाइ महोत्सबको उद्घाटन गर्नुभएको थियो । धान दिवस कार्यक्रममा कार्यक्रमको बिषयवस्तुमाथि कृषि शाखा प्रमुख शरु भुषालले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण कृषि सहायक मान बहादुर डाङ्गीले गर्नुभएको थियो ।