लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ, ३० जेठ । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभा बैठकमा दुई दिन छलफल भएको नीति तथा कार्यक्रम मंगलबार बसेको दोस्रो अधिवेसनको दशौँ बैठकले बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभा समक्ष आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेस गरेका थिए । सभामुख तुलाराम घर्तीले सो प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेस गरेका थिए । ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो । नीति तथा कार्यक्रमको विषयमा सदनमा व्यापक छलफल र चर्चा भएको छ । सत्तापक्ष सांसदले नीति तथा कार्यक्रमको बचाउमा उत्रिए भने सत्ता बाहिर रहेका दलका सांसद भने चर्को आलोचनामा उत्रिए ।

अघिल्लो एमाले नेतृत्व सरकारले कोरोना जोखिम कोषको नाममा कृषि अनुदान बाँडेर कार्यकर्ता पोषेको आरोप सत्तारुढ दलका सांसद दिनेश पन्थीले लगाएपछि एमालेका सांसदले उठेर विरोध समेत जनाएका थिए ।


यस्तै नीति तथा कार्यक्रममाथि पाँच जनाले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तर, संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

एमालेका सांसद भोजप्रसाद श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अर्जुनकुमार श्रेष्ठ, रत्नबहादुर खत्री, बसन्ती न्यौपानले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक बर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए । असार १ गते दिउँसो ३ बजे बजेट ल्याउनेगरी दोस्रो अधिवेसनको ११औँ बैठक बस्ने जानकारी गराइएको छ ।