तुलसीपुरको ‘स्मार्ट छोरी’ कार्यक्रम बन्द

तुलसीपुर,१८ असार ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको ‘स्मार्ट छोरी’ कार्यक्रम बन्द भएको छ । उपमहानगरपालिकाले सूचना जारी गरि सोही कार्यक्रम बन्द भएको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ देखि सञ्चालनमा आएको उक्त कार्यक्रम आगामी आर्थिक वर्ष २०८०/०८१ देखि बन्द गर्न लागिएको उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठले बताउनुभयो ।

छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि प्रत्येक महिना २ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने गरिएको थियो । सोही अनुसार चालु बर्षसम्म पाँच सय ६५ जना छोरीको खातामा रकम जम्मा भइसकेको छ ।

पाँच सय ६५ जनाको भने नियमित खातामा रकम जम्मा गरिदिने भएपनि अब नयाँलाई भने नदिने गरि सूचना जारी गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।“हामीले पहिले खातामा जम्मा गरेका छोरीहरुलाई भने २० बर्षसम्म रकम जम्मा गरिदिने छौं”,उहाँले भन्नुभयो“तर, अब नयाँहरुलाई भने कार्यविधि परिबर्तन गर्ने तयारी गरेका छौं ।”

न्यून आर्थिक अवस्था भएका छोरीहरुकालागि यो कार्यक्रम एकदमै प्रभाबकारी हुने भएपनि धनी परिवारलाई यसले कुनै अर्थ नराख्ने भन्दै कार्यविधि परिबर्तन गरेर पुनः सञ्चालन गर्ने गरि छलफल भएको समेत उहाँको भनाई छ । अर्कोतर्फ उपमहानगरपालिकामा आर्थिक शंकट पनि बढ्दै गएकाले पनि यो कार्यक्रम बन्द हुने अबस्था आएको अधिकृत श्रेष्ठले बताउनुभयो ।


उपमहानगरपालिकाको कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागु भएको थियो । अभिभावकले बैंकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा गरिदिने गरिएको थियो । जम्मा भएको रकम २० बर्ष पछि एकमुष्ट निकाल्ने सकिने कार्यविधिमा उल्लेख थियो ।

२०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा गरिदै आईएको थियो । कार्यविधि अनुसार माविसम्म नपढेमा र २० वर्ष अगाडि नै बिहे गरेमा रकम पाउदैनन् ।

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिनभित्र अनिवार्यरुपमा जन्मदर्ता गराएको हुनुपर्ने व्यबस्था थियो ।

उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था थियो । कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ ।

कार्यविधि अनुसार समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम पूरै दिनुपर्ने उल्लेख छ ।