टरिगाउँमा सीताको परीक्षण :पाईलट भन्छन्‘आकासमा चराले समस्या पार्न सक्छन्’

दीपक बोहरा
दाङ,१३ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँ स्थित बिमानस्थलमा सीता एयरले परीक्षण गरेको छ । शुक्रबार साढे १ बजेतिर सीता एयरको १९ सिटे ९ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो । सुरुवातमा पश्चिम तर्फबाट विमान अवतरण गरेको थियो । त्यसपछि पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो । दुबैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डंगोलले बताए ।‘दुवैतर्फबाट अवतरण सहजै छ’,उनले भने‘ यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौं ।’

केही रुखहरु र पानीको ट्याङ्कीले केही असहज बनाउने उनले बताए । त्यस्तै आकासमा चराहरु धेरै हुँदा पनि समस्या हुने गरेको क्याप्टेन डंगालेलले बताए ।‘वर्ड एक्टिभिटज निकै रहेछ’,उनले भने‘यताउति फोहर धेरै हुन सक्छ, त्यसलाई अलिकता कन्ट्रोल गरे हुन्छ ।’

सीता एयरका कर्मचारी राजेन्द्र बहादुर सिंहले अहिले जहाज अवतवरणकालागि सहज–असहजका विषयमा परीक्षण गरिएको भन्दै यसको विस्तृत प्रतिवेदन आएपछि मात्रै उडान नियमित हुने बताए ।

अहिले जहाज नियमित नहुँदा यात्रुहरुहरुले पटक–पटक धोका पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसंग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए ।‘ समयमा जहाज नआउने, नियमित नआउने समस्या छ’,उनले भने‘यसले गर्दा हामीहरु पनि नेपालगञ्ज,भैरहवा जानुपर्ने अबस्था छ, यसको अन्त्य भई हामीले सहज सेवा पाउनु पर्छ, भन्ने हो ।’


हाल नेपाल बायु सेवा निगमको १९ सिटे टुईनेटर हप्तामा ४ दिने तुलसीपुरमा उडान भर्ने गरेको छ । आइबार, मंगलबार, बिहीबार र शनिबार उडान हुने गरेको हो । हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भइ सञ्चालनमा पनि आइसकेको छ । तर, भाडा भने घट्न सकेको छ्रैन् । हाल दाङदेखि काठमाडौंको न्यूनतम आठ हजार आठ सय दश रुपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौं हजार १० रहेको छ ।

निजि विमान सञ्चालन भएसंगै भाडा घट्ने अपेक्षा गरिएको छ । साथै हाल रहेको ७५० मिटर लम्बाई र ३० मिटर चौडाई रहेको धावनमार्ग पनि विस्तारकालागि पहल भइरहेको छ । उक्त विमानस्थलमा केही समय अघि समिट एयरले पनि उडान भर्ने गरेको थियो ।