दाङ, १६ जेठ ।
राप्ती नदीमा अवैध उत्खनन भएको भन्दै राजपुर गाउँपालिकाका बासिन्दाले मंगलबार दिउँसो गाउँपालिका कार्यालय घेराउ गरेका छन् । उनीहरुले नदीजन्य पदार्थको अवैध उत्खनन बन्द गर्नुपर्ने र नदी उत्खननको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले मनोमानी ढंगले नदीजन्य पदार्थ उत्खनन् दिएको आरोप पनि स्थानीयले लगाएका छन् । नदीमा १८ हजार घनमिटर मात्र उत्खनन गर्न ठेक्का लगाइएकोमा त्यो भन्दा धेरै उत्खनन गरिएको नदी अवैध उत्खनन् विरुद्ध संघर्ष समितिका अध्यक्ष चक्रबहादुर खड्काले बताए ।
‘तोकिएको मापदण्ड भन्दा बढी उत्खनन गरिएको छ’ उनले भने, ‘नदीमा के कति उत्खनन भयो, राजस्व कति उठ्यो ? गाउँपालिकाले सार्वजनिक गर्नुपर्यो ।’ उनले गाउँपालिका अध्यक्षले मनोमानी ढंगले उत्खनन गर्न दिएको आरोप लगाए । गाउँपालिका कार्यालय घेराउ गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष एवं कार्यपालिका सदस्य पनि गएका थिए ।
गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले भने मापदण्डभित्रै नदीजन्य पदार्थको उत्खनन् भएको बताए । उनले १८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाइएकामा हालसम्म १० हजार घनमिटरमात्र उत्खनन भएको पनि बताए । ‘मापदण्डबाहिर गएर उत्खनन गर्न दिएका छैनौं’ उनले भने, ‘त्यसका लागि प्राविधिक जाँच पनि गरिसकेका छौं ।’
लाइभदाङ । १६ जेष्ठ २०८०, मंगलवार १८:०७ बजे