राप्ती गाउँपालिकाले पराल जलाउन रोक लगाउँदै किसानलाई सचेत गरायो

तुलबहादुर कवँर मगर
भालुबाङ, ३० असोज ।
दाङको राप्ती गाउँपालिकाले पराल जलाउन रोक लगाउँदै किसानहरूलाई सचेत गराएको छ। गाउँपालिकाले धान काटिसकेपछि पराल जलाउँदा वायुमण्डल प्रदूषित हुने, माटोको उर्वराशक्ति नष्ट हुने र जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले किसानलाई सचेत गराउँदै आएको हो।

यस क्रममा गाउँपालिकाका कर्मचारी र नेपाल प्रहरीको टोली खेत–खेतमै पुगेर किसानलाई पराल नजलाउन आग्रह गरेको छ। टोलीले पराल जलाउँदा हुने हानी, त्यसका असर र वैकल्पिक उपायहरूबारे जानकारीसमेत दिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार पहिलो चरणमा कृषकहरूलाई सम्झाइ–बुझाइ गरेर परालमा आगो नलगाउन अनुरोध गरिनेछ भने त्यसपछि पनि अटेरी गर्नेहरूमाथि सम्बन्धित कानुनअनुसार कारबाही गरिनेछ।


राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पराल जलाउने कार्य रोक्नु वातावरणीय सन्तुलन र जनस्वास्थ्यका लागि अत्यावश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “जनस्वास्थ्य र वातावरणको रक्षा सबैको सामूहिक जिम्मेवारी हो, त्यसैले पराल नजलाऔं, वातावरण जोगाऔं।”

गाउँपालिकाले किसानहरूलाई पराल व्यवस्थापनका लागि आवश्यक परामर्श र सहयोगका लागि कृषि शाखा तथा सम्बन्धित वडासँग सम्पर्क गर्न पनि आग्रह गरेको छ।