
दीपक बोहरा
दाङ,२२ पुस ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको परिसरमा रहेका सटरहरूको सम्झौता सकिएपनि खाली नगरेपछि अस्पताल प्रशासनले दोस्रो पटक सूचना निकाल्न बाध्य भएको छ । गएको असार मसान्तमै ति सटरहरुको सम्झौता सकिएको थियो ।
तर, पनि सटरवालाहरुले सटर छाड्न अटेरी गरेका थिए । अस्पताल प्रशासनले पहिलो पटक २३ असारमै सटर खाली गर्न सूचना जारी गरेको थियो । तर, सटर खाली गर्नुको सट्टा उल्टै बिभिन्न शक्तिकेन्द्रको प्रयोग गरेर सम्झौता थप्न दवाव बढाईरहेका थिए । अस्पताल विकास समितिले २९ जेठमै सटरको पुनः टेन्डर गर्ने भनि निर्णय नै गरिसकेकाले हाल पुनः दोस्रो पटक सूचना जारी गरिएको छ ।
आईतबार १५ दिने सूचना जारी गरेको हो । हाल अस्पतालले ६ महिनाको भाडा समेत प्राप्त गर्न सकेको छैन । असारमै सम्झौता सकिएको र सम्झौता पनि थप नभएकाले त्यसको भाडा समेत अस्पतालले लिन मिल्दैन । त्यसले गर्दा पनि अहिलेसम्म १६ वटा सटरको भाडा समेत आउन सकेको छैन् । यसले गर्दा अस्पतालको आन्तरिक आम्दानीमा समेत असर गरेको अस्पताल स्रोतले बताएको छ ।“सम्झौता असारमै सकिएको हो, सम्झौता सकिएपनि भाडा पनि लिन मिल्दैन”, अस्पताल स्रोतले भन्यो“अहिले ६ महिना भयो एक रुप्या भाडा पनि आएको छैन ।”
पहिलो पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले हाल पुनः १५ दिनको सूचना निकालिएको भन्दै त्यो सूचनालाई पनि अटेर गरे कानुन बमोजिम प्रक्रिया अघि बढाउने सूचनामा भनिएको छ ।
दुई बर्ष अघि नै भएको थियो निर्णय
२ वर्ष अघि पदम प्रसाद न्यौपाने अध्यक्ष हुँदा नै ति सटरहरुमा टेन्डर गर्ने भनि निर्णय भएको थियो । तत्कालिन अवस्थामा त्यो निर्णय कार्यान्वयन भएन । केही समय अघि अध्यक्ष भइ आएका महेन्द्र लामिछानेले पनि सटरहरुको टेन्डर गर्ने निर्णय गराएका थिए । तर, न्यौपानेलाई नै अध्यक्ष कायम गर्न अदालतले आदेश गरेपछि उनी पुनः आए । र, उनी आएपनि त्यो निर्णय कार्यान्वयन भएन ।
सटरहरु न्यून भाडामा दिईएको छ । यसरी न्यून भाडा हुँदा अस्पतालले त्यसबाट प्रयाप्त आम्दानी पनि लिन सकिरहेको छैन ।
साझाको विषय पनि पेचिलो
अस्पताल फार्मेसी सेवा निर्देशिका अनुसार अस्पताल परिसरमा बाहिरका फार्मेसी राख्न मिल्दैन । तर, अस्पतालको हात्ताभित्रै साझा फार्मेसी छ । त्यसलाई हटाउने पनि निर्णय भयो । तर, त्यसलाई पनि हटाउन आनाकानी भएको छ । साझालाई हटाएर आफ्नै फार्मेसी विस्तार गर्ने गरि तयारी भएपनि त्यो सफल हुन सकेको छैन ।



लाइभदाङ । २२ पुष २०८२, मंगलवार ०९:१५ बजे