एयरपोर्टमा राजनीति

दाङमा हाल दुई वटा एयरपोर्टको बहस भइरहेको छ । एउटा ऐतिहासिक टरिगाउँ एयरपोर्टको बहस र अर्को अन्तर्राष्ट्रिय स्तरको नारायणपुर एयरपोर्टको विषयमा बहस भइरहेको छ । टरिगाउँमा एयरपोर्ट हुँदा हुँदै नारायणपुरमा टरिगाउँको विकल्पका रूपमा ल्याएको भन्दै चौतर्फी विरोध पनि हुने गरेको छ । २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्ट विस्तार हुन सकेको छैन । ७५० मिटर मात्रै लम्बाई रहेको धावनमार्ग छ । त्यो धावनमार्गमा ठूला जहाज अवतरण गर्न सक्दैनन् । १९ सिटे जहाज मात्रै त्यहाँ अवतरण गर्ने हुँदा सीमित यात्रुलाई मात्रै सेवा दिन सकिएको छ, भने भाडा पनि महंगो छ । त्यसैले पनि अहिले भरपर्दो हवाई सेवाकालागि नेपालगञ्ज वा भैरहवा जानुपर्ने अवस्था छ ।

यसलाई सुधार गर्नकालागि धेरै बहस तथा छलफलहरू भए । तर, त्यसले कुनै अर्थ राख्ने गरेको छैन । स्थानीय स्तरमा जति दवावमुलक कार्यक्रम भएपनि नागरिक उडड्यन प्राधिकरणले यसलाई कुनै चासो दिएको देखिदैन । उल्टै टरिगाउँको विकल्पमा नारायणपुर विमानस्थल निर्माणकालागि ईआईएको प्रक्रिया अघि बढाएको छ । यसले गर्दा टरिगाउँ एयरपोर्टलाई ओझेलमा पार्ने षडयन्त्र भएको हुन सक्ने शंका उत्पन्न भएको छ ।


इतिहास बोकेको उक्त एयरपोर्ट विस्तारकालागि तुलसीपुर उपमहानगरपालिकाले पनि उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा टिम निर्माण गरेको छ । त्यो टिमले अहिले झक्झक्याई रहेको छ । यस क्षेत्रकै मुख्यमन्त्री डिल्ली चौधरी र मन्त्री धनबहादुर मास्की राजेश मन्त्री छन् । यदि केन्द्र सरकारले कुनै चासो नदिएमा प्रदेश, स्थानीय सरकार र स्थानीय ब्यापारिहरू मिलेर एयरपोर्ट बनाउने तयारी गरिरहेका छन् । मुख्यमन्त्री तथा मन्त्री स्तरबाट प्रदेश आफैले बनाउने भन्ने अभिव्यक्ती आउनु टरिगाउँकालागि त्यति सुखद भने होईन् । अरबौ लगानी लाग्ने ठाउँमा केन्द्रको सहयोगमा काम सक्ने अवस्था हुन सक्ने कुरामा शंका उत्पन्न भएकै छ । मुख्यमन्त्रीले नै त्यो अभिव्यक्ति दिदा केन्द्रले नै यो एयरपोर्टलाई उपेक्षा गरेको भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।

टरिगाउँ एयरपोर्ट स्तरवृद्धिकालागि दाङबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, दीपक गिरीले पनि पटक–पटक संसदमा आवाज उठाईरहेका छन् । उनीहरूका आवाज पनि सुनुवाई भएको देखिदैन् । एमाले महासचिव शंकर पोखरेले पटक–पटक टरिगाउँ विमानस्थलको विकल्प खोज्न सकिने कुरा सार्वजनिक कार्यक्रममै व्यक्त गर्ने गरेका थिए, त्यसमा पनि नागरिकले केही शंका व्यक्त गर्ने गरेका छन् । नागरिक उड्यनन प्राधिकरणलाई यस्तै ठूला नेताहरूले नै प्रभाव पारेका त हैनन्, यो विषयमा जनस्तरबाट पनि दवाव दिन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक