जब बजेट आउछन्, अनि चर्चा हुन्छ –टरिगाउँ एयरपोर्ट । प्रत्येक वर्ष बजेटका समयमा एयरपोर्टको नारा जोड तोडले उठ्ने गर्छ । यस अघिका बजेटमा पनि एयरपोर्टका नारा जोडले नै उठे । चुनावका बेला पनि उम्मेदवारहरुले त्यसलाई नै एजेण्डा बनाउछन् । तर, एयरपोर्ट निर्माणमा पहलकदमी पुगेको देखिदैन । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले आफै खटेर एयरपोर्ट विस्तारमा लागिन् । त्यसले पनि सार्थकता पाएन । आफै उपमहानगरपालिकाको डोजर, लाग्ने खर्च आफै ब्यहोरेर पनि वरपरका झारपात हटाउने काम गरिन । त्यसले केही उत्साह ल्याएको थियो । उनको पहलकदमीले सरकारले बजेट हाल्छ, की भन्ने अपेक्षा थियो । तर, संघीय सरकारले कुनै पनि बजेटको ब्यबस्थापन नगर्दा अहिले नागरिकमा निराशा छाएको छ । एयरपोर्ट संघीय सरकार मातहत पर्छ । संघीय सरकारले यसलाई चासो नदिदा नै दाङबासी निराशा बन्नु परेको हो ।
जिल्लाका नेताहरुमा एकरुपता नहुँनुको परिणामले नै यो अबस्था आएको हो । केही समय अघि मात्रै एमाले महासचिब शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट विस्तार गर्न सक्ने अबस्था नरहने हो भने विकल्प खोज्नु पर्ने सार्वजनिक अभिब्यक्ती दिएका थिए । त्यो अभिब्यक्तिलाई अर्थपूर्ण तरिकारले हेरिएको छ । खासगरि नागरिक उड्डयन प्राधिकरण(क्यान) को सहयोग नहुँदा पनि एयरपोर्टमा बजेट आउन नसकेको नेताहरुको अभिब्यक्ती आउने गरेका छ । क्यानले नै टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव छैन, भनिरहेको कुरा नेतृत्वबाट आउने गर्छ ।
हाल टरिगाउँ एयरपोर्टमा ७५० मिटर लम्बाईको धावन मार्ग छ । जहाँ १९ सिटे जहाज मात्रै बस्छन् । ठूला जहाज बस्न नसक्दा यात्रुहरु महंगो भाडा तिर्न बाध्य छन् । २०११ सालमा स्थापित उक्त विमानस्थल पटक–पटक खुल्ने र बन्द हुने गरिहेको छ । यसलाई १५ सय मिटर धावन मार्ग बनाउनकालागि डीपीआर पनि तयार भएको छ । तर, त्यो डीपीआर अनुसार काम अगाडी बढाउनकालागि सरकारले बजेट ब्यबस्था गरेको छैन । यसमा राजनीतिक खिचातानीको ठूलै प्रभाब परेको छ । यस क्षेत्रका नागरिकले पनि यो विषयमा जानकार हुनुपर्छ । जुन कुनै पार्टीको नहास्, नेतृत्व एक ढिक्का नहुँदासम्म यो एयरपोर्टको स्तरबृद्धिमा सधै धक्का लाग्न सक्छ, यसमा ख्याल गर्नुपर्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ५ असार २०८०, मंगलवार १२:२२ बजे