तुलसीपुरकालागि कुन पार्टी र नेतृत्व सही छ?

–आजाद खड्का “‘यो पार्टी वा त्यो नेता’ भन्ने भावनात्मक नारामा होइन—कार्यदिशा, कार्यक्रम र जनउत्तरदायी क्रियाशीलतामा निर्भर हुन्छ। हाम्रो निर्णयले अबको पाँच वर्ष मात्रै होइन, हामीले चाहेको सुशासनयुक्त, समृद्ध र न्याययुक्त तुलसीपुर बनाउने यात्राको गति निर्धारण गर्नेछ।”

१.विषय प्रवेश
तुलसीपुर उपमहानगरपालिकाको समृद्धि, सुशासन र सामाजिक न्याय सुनिश्चित गर्ने जिम्मेवारी केवल एउटा निर्वाचन वा घोषणापत्रमा सीमित हुन सक्दैन। यो जिम्मेवारी नेतृत्व, पार्टीको सोच, र जनताको सक्रिय सहभागितामा आधारित दीर्घकालीन यात्राको परिणाम हो। हामी कुन पार्टी सही र कुन पार्टी गलत भन्ने निष्कर्षमा पुग्न चाहन्छौं भने सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने—स्थानीय तहमा नेतृत्वको मापदण्ड के हो?

२.नेतृत्वको भूमिका केवल पदमा सीमित छैन
हाम्रो दलगत राजनीतिक प्रणालीमा नगर प्रमुख, उपप्रमुख वा वडाध्यक्षजस्ता पदहरू जित्नु मात्र नेतृत्वको सफलताको मापन होइन। पार्टी संरचनाको सुदृढता, संगठनको सशक्तता, विचारको स्पष्टता, जनसम्पर्कको निरन्तरता, र कार्यान्वयन क्षमताको आधारमा मात्र हामी वास्तविक नेतृत्वको मूल्यांकन गर्न सक्छौं।

कुन पार्टी तुलसीपुरमा सही छ भन्ने विषयमा विचार गर्दा केन्द्रीय नेताको हैसियत, सामाजिक सञ्जालको लोकप्रियता वा एक–दुई विकासे काम मात्रै पर्याप्त हुँदैन। हामीलाई हेर्नु पर्ने कुरा हो—स्थानिय स्तरमा त्यो पार्टी र त्यसको नेतृत्व कत्तिको सिर्जनशील, गतिशील र जनउत्तरदायी छ? त्यो नेतृत्वले आफ्नो पार्टीको सम्पूर्ण संगठन—विभाग, जनवर्ग संगठन, युवा, महिला, बुद्धिजीवी, सहकारी, वर्गीय मोर्चा—सबैलाई कत्तिको चलायमान बनाएको छ?

३.तुलसीपुरको राजनीतिक संरचनामा एक नजर
हालको स्थानीय निर्वाचनमा प्राप्त नतिजाको आधारमा तुलसीपुरमा निम्न राजनीतिक दलहरूको प्रभाव देखिन्छः

– नेकपा (एमाले)ः मेयर र उपमेयरसहित १० वटा वडा जित्दै तुलसीपुरको सर्वाधिक सशक्त दल बनेको छ। यसको नगर अध्यक्ष रुपबहादुर खत्री छन् ।
– नेपाली कांग्रेसः ५ वटा वडा जित्दै दोस्रो स्थानमा रहेको छ। नगर सभापति सुरेश हमाल हुन्।
– नेकपा (माओवादी केन्द्र)ः ४ वटा वडा जितेको तेस्रो पार्टी हो। नगर अध्यक्ष मोहन थापा छन्।
– अन्य दलहरूः राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एस), नेकपा, जसपा, राप्रपा, लोसपाजस्ता पार्टीहरू पनि चुनावी प्रतिस्पर्धामा सहभागी छन् र स्थानीय तहमा सानोतिनो प्रभाव छ।

तर यहाँ कुरो सिट संख्या मात्रै होइन—यी दलका नगर नेतृत्वहरूले कस्तो सोच, कार्यक्रम र संरचना विकास गरेका छन्? त्यसको मुल्याङ्कन जरुरी छ।

४.अब हामीले के हेर्नुपर्छ?
हामी कुन पार्टी सही भन्ने भन्दा पहिला, हामी के चाहन्छौं भन्ने स्पष्ट हुनुपर्छ। हामी नागरिक हौं—हामीको आवश्यकता, सपना र अपेक्षा पार्टीको घोषणापत्रभन्दा गहिरा छन्।

क) हामी चाहन्छौं—सुशासन
– तुलसीपुरमा पारदर्शी, जवाफदेही र न्यायपूर्ण शासन प्रणाली विकास होस्।
– राजनीतिक पहुँच, सिफारिस र प्रभावभन्दा माथि उठेर नागरिक सेवाहरू प्राप्त होउन्।
– योजना निर्माणदेखि बजेट खर्चसम्म जनताको निगरानी होस्।
– सार्वजनिक सम्पत्तिको संरक्षण, भ्रष्टाचार नियन्त्रण र नगरपालिकाको प्रशासनमा दक्षता होस्।

ख) हामी चाहन्छौं—समृद्धि
तुलसीपुरलाई एक विकसित, आत्मनिर्भर र सम्भावनायुक्त सहरका रूपमा हेर्न चाहन्छौं।


– कृषि, व्यापार, सेवा र उत्पादनशील क्षेत्रको समुचित समन्वय होस्।
– युवाहरूलाई सीप, रोजगारी र उद्यमशीलतामा अवसर दिइयोस्।
– यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, सूचना प्रविधि आदिमा दीर्घकालीन योजना होस्।
– बजार व्यवस्थापन, सहरी सौन्दर्यीकरण, पार्क, साइकल लेन, हरियाली र वातावरणमैत्री पूर्वाधार निर्माण गरियोस्।

ग) हामी चाहन्छौं—सामाजिक न्याय
– हामी जातीय, लिङ्गीय, वर्गीय वा भौगोलिक आधारमा हुने विभेद अन्त्य होस् भन्ने चाहन्छौं।
– सीमान्तकृत समुदायका आवाज समेटिने नीति बनोस्।
– महिलाहरूको समान सहभागिता र नेतृत्व सुनिश्चित गरियोस्।
– दलित, आदिवासी जनजाति, मुस्लिम, अपांगता भएका व्यक्तिहरूको सहभागिता बढाइयोस्।
– अवसरमा समावेशीता र परिणाममा समानता लागू गरियोस्।

५.कुन पार्टी सही? कसको नेतृत्व सक्षम?
अब मूल प्रश्नमा फर्कौं—कुन पार्टी वा नेताले यी मुद्दाहरूलाई कार्यान्वयन गर्न सक्ने वातावरण बनाएको छ?
यसको उत्तर सिधा छः जो नेताले जनअपेक्षा बुझ्छ, कार्यदिशा दिन्छ, पार्टी संगठनलाई जिवन्त राख्छ, आलोचना स्वीकार्छ र सुधार गर्छ—त्यही पार्टी सही हो। सत्तामा हुनु–नहुनको आधार होइन, त्यो पार्टीले स्थानिय तहमा गरेका कार्य, तल्लो तहसम्मको सक्रियता र सम्पूर्ण संगठनात्मक जीवन्तताले नै मूल्यांकनको आधार बन्नुपर्छ।

तुलसीपुरका नेताहरू—रुपबहादुर खत्री, सुरेश हमाल, मोहन थापा—तिनीहरूको नेतृत्वमा रहेका कमिटी, संगठन र जनसम्पर्क सबै नागरिकको मूल्यांकनको घेराभित्र छन्। तसर्थ, हामीले हेर्नु पर्ने कुरा होः

– कुन पार्टीले समुदायमा कार्यक्रम पु¥याएको छ?
-कुन पार्टीले आन्तरिक छलफल, बहस र प्रशिक्षणमार्फत कार्यकर्ता सचेत बनाएको छ?
– कुन पार्टीले नागरिक सरोकारका विषयमा दबाब सिर्जना गरेको छ?

६.हामी नागरिकको भूमिका के हो?
हामी केवल मतदाता होइनौं। हामी सजग, विवेकशील र समावेशी सोच भएका जिम्मेवार नागरिक हौं। तसर्थः
– हामी पार्टीभित्र छौं भने नेतृत्वलाई सुझाव, आलोचना र खबरदारी गरौं।
-हामी निर्दलीय छौं भने तटस्थता होइन—मूल्य र मुद्दामा आधारित सक्रियता देखाऔं।
-हामी जस्तो सोच राख्छौं, त्यस्तै नेतृत्व चयन गर्ने अभ्यास गरौं।

यदि तपाईंको पार्टी नै उपयुक्त लाग्छ भने अहिल्यैदेखि त्यसमा सचेत भूमिका खेल्न थाल्नुस्। चुनाव आउन बाँकी छ—तर सचेत नेतृत्व निर्माण गर्ने समय यही हो।

निष्कर्षमाः
तुलसीपुरको भविष्य केवल ‘यो पार्टी वा त्यो नेता’ भन्ने भावनात्मक नारामा होइन—कार्यदिशा, कार्यक्रम र जनउत्तरदायी क्रियाशीलतामा निर्भर हुन्छ। हाम्रो निर्णयले अबको पाँच वर्ष मात्रै होइन, हामीले चाहेको सुशासनयुक्त, समृद्ध र न्याययुक्त तुलसीपुर बनाउने यात्राको गति निर्धारण गर्नेछ।

सजग नागरिक बनौं। मुद्दा आधारित निर्णय गरौं। नेतृत्व मूल्यांकनमा विवेक पु¥याऔं। अस्तु।

(लेखक समाजवादी ज्ञान केन्द्रका अध्यक्ष हुन् ।)