मेयरका अगाडी उपमेयरको गर्जनः आफ्नो मान्छे प्रअ बनाउदैमा शिक्षा सुध्रिदैन

दाङ,२३ वैशाख ।
दाङ तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले तुलसीपुरमा भएको शिक्षक सरुवाका विषयमा असन्तुष्टि जनाएकी छिन् । शुक्रबार नगर प्रमुख समेत सहभागि कार्यक्रममा उपप्रमुख चौधरीले आफ्ना मान्छेलाई राम्रो ठाउँमा सरुवा गर्दैमा, आफ्ना मान्छेलाई जागिर लगाउदैमा तथा आफ्ना १/२ जना मान्छेलाई प्रधानाध्यापक बनाउँदैमा सरकारी विद्यालयको शिक्षा नसुध्रिने बताएकी हुन् ।‘कसैलाई चिन्तै छैना राम्रो स्कुल बनाउ भनेर’,उनले भनिन्‘ १, २ जनालाई आफ्नो मान्छे राम्रो ठाउँमा सरुवा गराउन पाएपछि, प्रअ बनाउन पाएपछि मख्ख छन्, त्यस्तोहरुको बीचमा म के चिन्ता गर्नु ?’

तुलसीपुर उपमहानगरपालिकाले केही दिन अघि शिक्षक सरुवा तथा प्रधानाध्यापक ब्यबस्थापन गरेको थियो । त्यसको विषयमा उपप्रमुख चौधरीले सोही कुरा ब्यक्त गरेकी हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ ले आयोजना गरेको बाल विकास तथा प्राथमिकक तहका शिक्षकलाई क्षमता विकास तालीममा उप्रमुख चौधरीले शिक्षामा सबै बजेटको ५० प्रतिशत भन्दा बढि लगानी भएपनि उपलब्धी नभएको भन्दै गुनासो पोखिन् ।


यो विषयमा नगर प्रमुख टिकाराम खड्काले प्रवेश गरेनन् । उनले तुलसीपुरका शिक्षा सुधारका लागि आफू चिन्तित भएको बताएका थिए । शिक्षा क्षेत्र सुधारकालागि शिक्षकहरु सक्रिय बन्नु पर्ने बताएका थिए । मान्छेमा निजि विद्यालयमा पढाउनु पर्छ भन्ने भावनाले पनि सरकारी विद्यालयहरु सुक्दै गएको उनले बताए । त्यसकालागि शिक्षकहरुले पनि समय सान्दर्भिक क्षमता विस्तार गर्न आबश्यक रहेको उनको भनाई छ ।

त्यस अवसरमा उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले शिक्षामा लगानी धेरै भएपनि त्यसको प्रतिफल खस्किदै गएको बताएका थिए । यही अबस्थामा रहे सामुदायिक विद्यालय‘डाइनोसर’ जसरी लोप हुने अबस्था आउने समेत उनको भनाई थियो ।