दाङ,१९ मंसिर । पूर्वपश्चिम राजमागै अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिईएको छ । सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागु हुने गरि सूचना १५ दिने सूचना जारी गरि राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संचना हटाउन निर्देशन गरेको हो ।
दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ,बाँया ३१/३१ मिटर भित्र रहेका संरचना हटाउन निर्देशन गरिएको सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिए । उनका अनुसार पुस १५ भित्र नहटाएमा आफै हटाउने समेत तयारी रहेको छ । साथै हटाउन लागेको खर्च समेत सडक मिच्नेहरु नै ब्यहोर्नु पर्ने सूचनामा उल्लेख छ ।
राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर रहेको छ । कार्यालयले सोही क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिनकालागि अनुरोध गरेको छ । लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नकालागि पत्र पठाएको डिभिजन प्रमुख इञ्जिनियर रामपुकार जैसवालले बताए ।
पटक–पटक सडक मिचेका भन्ने गुनासो पनि आएको र दुर्घटनाको पनि जोखिम रहेकाले सडक क्षेत्र खाली गर्न निर्देशन दिईएको हो ।
लाइभदाङ । १९ मंसिर २०७९, सोमबार १४:०९ बजे