विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र सेनेटरी प्याड सहयोग

घोराही, २२ बैशाख ।
बुद्ध जयन्तीको अवसरमा एक सय बढि बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । २५६७ औँ बुद्ध जयन्तीको अवसरमा विपन्न, दलित, जनजाति एवं द्धन्द पिडित बालबालिकाहरुलाई शिक्षामा सहयोग होस् भन्ने उद्धेश्यकासाथ शैक्षिक सामाग्री सहयोग गरिएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङमा स्थापना भएको “बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम” अन्तरगत १ सय ५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष बिष्णु गिरीको अध्यक्षतामा एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष तथा ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ का स्थापनाकर्ता बिमला योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै योगीले आफ्नो बिगतको अनुभबले बालबालिकाको पठन पाठनमा केहि योगदान दिन पहल सुरु गरेको बताउनु भयो ।

“हिजो मैले विद्यालय र उच्च शिक्षा पढ्दा स्कुल क्याम्पसमा हुनेगरेको ड्रप आउट अनि त्यसको कारण खोज्दै जादा आर्थिक अभाब देखेकाले यो अभियान सञ्चालन गरेको हुँ” भन्नुभयो । उहाँले छोरीलाई शिक्षित बनाउन पर्छ भन्ने मान्यताले पनि आफुलाई प्रेरित गरेको बताउनु भयो ।


नेपाल महिला सामुदायिक सेवा केन्द्रले अक्षयकोष समेत स्थापना गरि अन्य सहयोगी हातहरुको साथमा २ दशक यता हरेक बर्ष ५ सय बढि बालबालिकाहरुलाई पठनपाठनमा सहयोग गर्दै आएको योगीले जानकारी दिनुभयो । “कुनै पनि बालबालिका शिक्षाबाट बञ्चीत हुन नपरोस् भन्ने मान्यताका साथ हामीले अति विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्दै आएका छौँ’ योगीले भन्नुभयो– ‘संस्था स्थापना भएदेखी नै हामीले यो अभियान सुरुवात गरेका हौँ , जुन शिक्षा पाएर धेरै नानीबाबुहरु अहिले आत्मनिर्भर बन्न सक्नुभएको छ, जसले गर्दा उहाँहरुका परिवार आर्थिक रुपमा सक्षम बनेको छ ।’ योगीले भन्नुभयो–“पैसा नभएर कसैले बिद्यालय छोड्नु नपरोस भन्ने मेरो अपेक्षा छ ।”

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष बिष्णु गिरीले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको शिक्षामा ध्यान दिन अनुरोध गर्नुभयो । “आर्थिक अभाबमा बिद्यालय जान नसक्ने अबस्था हटाउन हामिले निरन्तर पहल गरिरहेका छौ । समस्या पर्यो भने हामिलाई सम्झिनु होला” गिरीले भन्नुभयो– ‘आफ्ना बालबालिकाहरुको शिक्षामा तपाईहरु पनि गम्भीर बन्नुपर्छ ।’ कार्यक्रमको सहजिकरण कार्यक्रम प्रमुख आर.के.शीतलले गर्नुभएको थियो ।

त्यस अवसरमा बालिकाहरु र अभिभावकहरुलाई सेनेटरी प्याड पनि बितरण गरिएको थियो । लैङ्गीक हिंसा पुर्नस्थापना केन्द्रले उत्पादन गरेको पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरिएको हो ।