लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

दीपक बोहरा,
दाङ, १९ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभाको पहिलो अधिवेशनको १० औं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन् । ८७ सांसद मध्ये उनको पक्षमा ५३ मत परेको छ, भने विपक्षमा २९ मत परेको छ ।

उनलाई काँग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३/३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद तथा एक जना स्वतन्त्र सांसदले विश्वासको मत लिएका हुन् । त्यस्तै विपक्षमा एमालेका २९ सांसदले मत दिएका थिए ।

उनले विश्वासको मत पाएसंगै मन्त्रीपरिषद विस्तार तथा बाँडफाँट हुनेछ ।


हाल लुम्बिनीमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डे मन्त्री छन्। तर, उनीहरुको मन्त्रालय भने अझै टंगिएको छैन । त्यो बाहेक अन्य साना ४ वटा दलले पनि मन्त्रालय मागेका छन्, भने एक जना स्वतन्त्र सांसदको पनि मन्त्रालयमै दावी छ । यसो भएमा हाल भएका मन्त्रालय टुक्राउनु पर्ने हुन्छ । हाल १० वटा मन्त्रालय छन् ।

एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा १३ वटा मन्त्रालयबाट १० वटा मन्त्रालयमा झारिएको थियो ।