सगरमाथा सिमेन्टमा सेयर नहाल्न प्रभावितको आह्वान

दीपक बोहरा,
दाङ,१७ वैशाख ।
दाङको घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले शेयर वितरण गर्न थालेपछि प्रभाबितहरु आन्दोलित भएका छन् । आईतबार घोराहीमा प्रभाबित तथा सरोकारवालाहरुको भेलाले चरणबद्ध आन्दोलन गर्ने बताएका छन् । सिमेन्ट उद्योगले स्थानीयलाई निकै असर गरिरहेको र पटक–पटक भएका सहमति कार्यान्वयन नगरेको भन्दै शयर खरिद नगर्न सबैमा आग्रह समेत गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं.४ को वडा कार्यालयको आयोजनामा भएको उक्त छलफलमा कसैले पनि शेयर खरिद नगर्न आह्वान गरिएको वडाध्यक्ष मधुसुदन घिमिरेले बताए ।‘स्वास्थ्य संस्था, विद्यालयका भवन बनाई दिन्छु, भन्ने सहमति भयो, त्यो पनि कार्यान्वयन छैन’,उनले भने‘अहिले शेयरका नाममा जनताबाट पैशा असूल्ने प्रपन्च भएकाले हामीले यसको विरोध गरेका छन् ।’

घोराही सिमेन्टले एक अर्ब बढि विद्युत महशुल बक्यौता तिर्न बाँकी छ । त्यही महशुल बुझाउनकालागि जनताबाट शेयर आह्वान गरिएको भन्दै त्यसमा शेयर हालेमा डुब्ने भन्दै सचेत रहन स्थानीय भोला अधिकारीले बताए । यो सिमेन्ट उद्योग बस्तिका बीचमा हुँदा मानविय स्वास्थ्यमा निकै क्षति पु¥याएको भन्दै यसलाई हटाउने गरि आन्दोलन गर्ने बताएका छन् । साथै विद्युत बक्यौता नतिरेपनि विद्युत काट्न प्राधिकरणले आँट नगरेको भन्दै कार्यालयमै गएर झक्झक्याउने उनले बताए ।


२०६४ सालमा दर्ता भई वि.सं. २०६९ साल देखि उत्पादन थालेको उद्योगले सगरमाथा सिमेन्ट उत्पादन गर्दै आएको छ । जसले सिमेन्ट तथा क्लिंकर उद्योगबाट सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । यस उद्योगले आफ्ना उत्पादनहरुको उत्पादनका क्रममा प्रभावितहुने क्षेत्रहरु मध्ये दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९ साथै दाङ जिल्ला, बंगलाचुली गा.पा. वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गा.पा. वडा नं. ३, ४ का बासिन्दाहरुको निमित्त यस साधारण शेयर निष्काशन गरेको जनाएको हो ।

उद्योगले निष्काशन गर्न लागेको ७९ लाख ४३ हजार आठ सय एक कित्ता मध्ये सात लाख ५४ हजार छ सय ६१ कित्ता शेयरहरु स्थानीय बासिन्दाहरुका लागि विक्रि गर्न थालेको हो । आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि बैशाख १९ गते देखि छिटोमा जेष्ठ ०२ गते सम्म र ढिलोमा जेठ १७ सम्म जारी गरीएको छ ।

दरखास्तका लागि विवरणपत्र र दरखास्त फारम घोराही उपमहानगरपालिकामा रहेको आफ्ना पाएक पर्ने बैंक तथा वित्तिय संस्थाबाट लिन सकिने कम्पनीले जनाएको छ । हाल कम्पनीले नेपालमा सगरमाथा सिमेन्ट अन्तर्गत क्लिंकर तथा ४३ र ५३ ग्रेडमा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण बजारमा उपलब्ध गराँउदै आईरहेको छ । उक्त सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट गुण्स्तरहीन हुने गरेको भन्दै पटक–पटक विवादित समेत भएको छ ।