लुम्बिनी प्रदेशमा बनेनन् संसदीय समिति

तुलसीपुर,१३ वैशाख ।
लुम्बिनी प्रदेशमा संसद सुरु भएको चार महिनासम्म पनि संसदीय समिति बनेका छैनन् । संसदीय समितिकालागि दलहरुबाट नामावली माग गरेको भएपनि सबै दलले विवरण नबुझाउँदा समितिले पूर्णता नपाएको प्रदेशसभा सचिबालयका प्रबक्ता सम्झना सुवेदीले बताउनुभयो ।“सबै दलबाट विवरण माग गरिएको छ, तर सबै दलले विवरण पठाउन सक्नु भएको छैन”,उहाँले भन्नुभयो “त्यसले गर्दा पनि समितिहरुले पूर्णता पाउन सकेका छैनन् ।”

समितिले पूर्णता पाएमा संसद अझ प्रभाबकारी हुन्छ । संसद र सरकार चुस्त तकिारले चल्ने भएपनि अझै पनि संसदीय समिति बन्न नसकेको प्रबक्ता सुवेदीले बताउनुभयो ।“कतिपय विद्येयक समितिमा पठाउनु पर्ने हुन्छ”,उहाँले भन्नुभयो“ तर, समिति नबन्दा अहिले त्यसो हुन सकेको छैन ।”


समिति निर्माणको प्रक्रिया भने अघि बढिसकेको उहाँको भनाई छ । प्रदेशको पहिलो अधिवेशन १८ पुसमा भएको थियो । प्रदेशसभाको ३ माघमा बसेको तेस्रो बैठकले सभामुख र उपसभामुख निर्वाचित गरेको थियो । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा नागरिक उन्मुक्ती पार्टीका निर्मलादेवी थारुलाई निर्वाचित गरिएको थियो ।

त्यस्तै ५ माघमा भएको चौथो बैठकबाट मुख्यमन्त्री गिरी माओवादी केन्द्रसहित ५७ सांसदको समर्थनमा विश्वासको मत पाउनुभएको थियो ।